पोखरा/ आउँदो शनिबार नेवाः खलः कास्कीको आयोजनामा हुने तायाः मचा नृत्य प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा पुरुषतर्फको विजेताले नगद ३ लाख एक रुपैयाँ र महिलातर्फको विजेताले ४० हजार रुपैयाँ प्राप्त गर्नेछन् । पुरुषहरुलाई परिको भेषमा नचाइने भएतापनि पछिल्ला केहिवर्ष यता महिलाहरुको समेत सहभागिता रहँदै आएको छ ।
प्रतियोगितामा पुरुषतर्फको पुरस्कार राशीको मुख्य प्रायोजक रहेकाले ठुलो रकम प्रदान भएको र महिला तर्फका लागि नभएकाले रकमा फरक परेको नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले बताए । प्रतियोगिताको प्रचार प्रसार तथा सम्मान कार्यक्रम संयोजक सुभाष तझ्याले प्रतियोगितामा कुल ३० समुहको सहभागिता रहने जानकारी दिए । उनका अनुसार पुरुषतर्फ २१ र महिलातर्फ कुल ९ टिमले प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फ द्वितीय हुने समुहले २ लाख १ रुपैयाँ, तृतीयले १ लाख १ रुपैयाँ प्राप्त गर्नेछन भने सान्त्वना हुनेले ३० हजार १ रुपैयाँ प्राप्त गर्नेछ ।
महिलातर्फ द्वितीय हुने समुहले २० हजार १ रुपैयाँ प्राप्त गर्नेछन् । उक्त पुरस्कार राशी ४ दाजुभाई रामकाजी श्रेष्ठ, रवीन्द्र श्रेष्ठ, कविन्द्र र शंकर श्रेष्ठले आफ्ना स्वर्गीय मातापिताको स्मृतिमा १० लाख रुपैयाँ सहयोग गरेका हुन् । प्रतियोगितालाई उत्सवका रुपमा मनाउनका लागि कार्यक्रम क्षेत्रमा नेवार समुदायमा प्रचलित सामग्री,खाजा तथा खानाका स्टलहरु राखिने उनले बताए । तायाः मचा नृत्य प्रतियोगिता २०८१ सालमा नयाँबजार, २०८२ सालमा शिसुवा र २०८३ सालमा लामाचौरमा आयोजना गरिने छ ।





