पोखरा/ तनहुँको ब्राइट फ्युचर बोर्डिङ स्कुलमा गृहकार्य नगरेको र साथीसँग झगडा भएपछि शिक्षकले उठबस गराउँदा एक विद्यार्थीको खुट्टामा समस्या आएको परिवारले जिकिर गरेका छन् । साउन ३० गते कक्षा १० मा पढ्ने युनिक थापाले विज्ञान विषयको गृहकार्य नगरको र अर्का विद्यार्थीसँग झगडा गरेपछि २ सय पटक उठबसको सजाय दिँदा स्वास्थ्यमा समस्या देखिएको आमा सुनिता खत्रीले बताइन् ।
मंगलबार घर आएपछि उसको खुट्टा अचानक फुलेको र सोध्दा विद्यालयमा उठबस गराएको बताएपछि मल्हम लगाएर भोलिपल्ट (बुधबार) विद्यालय गएका थिए । तर, अचानक स्वास्थ्य बिग्रिन थालेपछि अस्पताल लैजाँदा उनको खुट्टासँगै पिसाबमा समेत समस्या देखिएको उनको भनाइ छ । छोरा विरामी भएपश्चात विद्यालय प्रशासनलाई निवेदन गर्दा गैरजिम्मेवार जवाफ पाएको उनको भनाइ छ । उनले विद्यालयमै पाएको सजायको कारण छोराको स्वास्थ्यमा समस्या देखिएको र विद्यालय प्रशासनलाई खबर गर्दा वेवास्ता गरेको गुनासो पोखिन ।
‘साउनको ३० गते होमवर्क नगरेको र साथीसँग झगडा गरेको भनेर २५० पटक उठबस गराएको रहेछ । बेलुका मुभ लगाएर मालिस गरिदिएपछि फकाइफुल्याइ ३१ गते विद्यालय पठाएँ । खुट्टामा झन समस्या आयो । चेकअप गराउँदा पिसाबमा समेत समस्या देखियो,’ उनले भनिन्, ‘मलाई शिक्षकप्रति गुनासो छैन् । तर,घटना विद्यालयमा भएको हो । प्रशासनका कुरा राख्दा पनि विरामी सबैलाई विद्यालयले हेर्न सक्दैन भन्ने जवाफ आयो ।’ विद्यालय प्रशासनले बिरामी सबैलाई क्षतिपुर्ति दिएर साध्य नहुने र पाँच दिनसम्म विद्यालयमा राख्दा अवस्था बुझन आइदिनुहोस् भन्दा समेत नआएको सुनिताको गुनासो छ ।सुनिताका अनुसार विज्ञान विषयको गृहकार्य नगर्दा एक सय पटक उठबस गराएको थियो । यस्तै कक्षामा झगडा गरेको भन्दै गणित विषयका शिक्षकले १५० पटक उठबस गराएका थिए । युनिकको उपचार गर्दा करिब ३० हजार खर्च भएको थियो । उनलाई पाँच दिन अस्पतालमा भर्ना गरी राखिएको थियो ।
झगडा गरेपछि उठबस गराएका हौं : विद्यालय
विद्यालयकी सह–प्रधानाध्यापक मनिषा थापाले साथीसँग झगडा गरेपछि उनीहरुलाई सजाय दिएको बताइन् । उनले ब्रेकको समयमा साथीसँग लडेको सिसिटिभिमा देखेपछि झगडा गर्ने दुवैलाई उठबस गराएको सुनाइन् । ‘उसलाई शिक्षकले कुटेको होइन् । उठवस गराएको हो त्यो पनि झगडा गरेको कारणले हो । मलाई त्यस्तो केही गुनासो छैन भनेर मेसेज पनि गर्नुभएको छ । ऊ पहिलादेखि नै विरामी रहेछ,’ उनले भनिन्, ‘लागुऔषध खाने विद्यार्थी हो । अन्यत्र भर्ना नलिएपछि हामीले लिएका हौं । एसइई दिने विद्यार्थी भविष्य खराब गराउनुहुँदैन भनेर हामीले फकाउँदा पनि गृहकार्य गर्न मान्दैन ।सजाय पाएको भोलिपल्ट आरामले विद्यालय आएको थियो ।’ घटनाको बारेमा पुनः एक पटक विद्यार्थीको परिवारसँग बसेर छलफल गर्ने उनले सुनाइन् ।





