पोखरा/ कास्की जिल्लाको माछापुच्छ«े गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाले प्रभावित क्षेत्रका स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि कम्पनीको प्राथमिक सेयर(आइपीओ) जारी गर्ने भएको छ ।
सेती नदी जलविद्युत आयोजनाको प्रवद्र्धक भिजन लुम्बिनी उर्जा कम्पनी प्रालिले यही भदौ १९ गतेदेखि प्रभावित क्षेत्रका लागि आइपीओ ल्याउन लागेको हो ।
आयोजनाको प्रभावित क्षेत्रका रुपमा रहेका माछापुच्छ्रे गाउँपालिकाको वडा नं. १, २, ३, ४ र पोखरा महानगरपालिका वडा नं १९ का स्थानीय बासिन्दाहरुले कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन् ।
भिजन लुम्बिनीले आफ्नो जारी पूँजी रु एक अर्ब ९१ करोड २५ लाखको १० प्रतिशत अर्थात रु १९ करोड १२ लाख ५० हजार बराबरको १९ लाख १२ हजार ५०० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गर्न लागिएको कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले जानकारी दिए ।
उनका अनुसार सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशतले एक लाख ९१ हजार २५० कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरिने छ ।
कम्पनीका अनुसार आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले अधिकतममा तीन लाख ८० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले अधिकतम १९ हजार १२० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।





