बाढीपहिरो नेपालको नियति नै हो । तर, बाढीपहिरोले यति ठूलो मानवीय क्षति हुँदैनथ्यो । किनकि, खोला र पानी आफ्नै तालमा बग्थे । जमिनले पानी सोस्थ्यो । पानीढलो बिग्रेको थिएन । पानी छिरलिएर बग्दै जाँथ्यो । तर, एकाएक विकासको नाममा गाम्रीण क्षेत्रमा बाटो बनाउन थालियो ।
डोजर अगाडि लगाएर इञ्जिनियर र वातावरणवीदहरुको कुरा नसुनेरै जथाभावी बाटो भत्काउने काम भयो । बाटोको नाममा वन मासियो, कुलो र पानीढलोको अवस्था हेरिएन । खनेको माटो जथाभावि फालियो । यसको परिणाम बिस्तारै देखिँदै आयो । अहिले नेपाल र खासगरि गण्डकी क्षेत्रमा पहिरो जानुमा वातावरणीय मूल्याङ्कन बिना खनिएका बाटोहरु नै जिम्मेवार छन् । प्राकृतिक स्रोतको दोहन गर्ने, खोला मास्ने र जथाभावि माटो, गिट्टी निकाल्ने प्रवृत्ति पनि विनासको कारण बन्यो । दिनहुँ जनधनको क्षति भइरहँदा पनि यसबारे सरकारले अझै ध्यान दिन सकेको छैन ।
अहिले नेपालका एउटै डाँडा सग्ला छैनन् । बाटो आवश्यकता होला तर विकासको कारण बन्नु हुँदैन । राज्यस्रोतको दुरुपयोगले निम्त्याएको यो विनास रोक्नको लागि प्रकृतिमैत्री निर्माणमा ध्यान दिनुपर्छ । अति दोहन रोकिनुपर्छ । बाटो बनाउनु नै छ भने पनि वरपर असुरक्षित भएका घर÷गोठहरुलाई स्थान्तरण गरिनुपर्छ । बाटो बनाउँदा नाला र ढलको व्यवस्था हुनुपर्छ र फालिएको माटोको पनि व्यवस्थापन गरिनुपर्छ । यी सामान्य र गर्नैपर्ने काम हुन् । यी र यस्ता विषयमा ध्यान नदिनु भनेको चरम लापरवाही नै हो । जनप्रतिनिधिहरुको रुपमा लापरवाही गर्ने छुट कसैलाई छैन । मान्छेको जीवनसँग खेलबाड गर्न मिल्दैन र पाइँदैन । हिउँदभर छेपाराले जस्तै घाम तापेर बस्ने र समस्या परेपछि जाग्ने प्रवृत्ति अन्त्य नभएसम्म यो समस्याको समाधान हुँदैन । विकासे परियोजना संचालन गर्दा प्रकृतिको भाका बुझ्नैपर्छ ।
