पोखरा/पोखरा विश्वविद्यालयका उपप्राध्यापक रविन्द्रप्रसाद बराल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । मंगलबार अख्तियारले बरालविरुद्ध दोहोरो सुविधा लिएको र अन्यत्र काम नगर्ने प्रतिबद्धता विपरीत अध्यापन गरेको आरोपपत्रमा उल्लेख छ ।
अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार बरालले बिना स्वीकृति अन्य स्थानमा अध्यापन गरी दोहोरो सुविधा लिएको र अन्य स्थानमा काम नगर्ने प्रतिवद्धता पेश गरी नन्टिचिङ्ग एलाउन्ससमेत लिएको हुँदा आरोपपत्र दायर गरिएको बताए ।
‘पोखरा विश्वविद्यालयका उप–प्राध्यापक रविन्द्रप्रसाद बरालले अन्य स्थानमा काम नगर्ने भनी गरेको प्रतिवद्धता र पोखरा विश्वविद्यालयले भराएको फाराममा समेत अन्यत्र काम नगर्ने भनी आफैले गरेको हस्ताक्षरसहितको प्रतिवद्धता विपरीत सार्वजनिक सरकारी संस्थाबाट नन टिचिङ एलाउन्ससमेत लिएको’ आरोपपत्रमा उल्लेख छ ।
बरालले लिएको दोहोरो सुविधा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको अख्तियारको ठहर छ । उनीविरुद्धसोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवानाको मागदाबी गरिएको छ ।





