बागलुङ/शुद्द पानी खान पाउने आम नागरिकको अधिकार हो । बर्षौदेखि बागलुङका नागरिकले शुद्द पानी खान पाएका छैनन् । बर्षातमा धमिलो पानी, हिउँदमा पानी नै नआउने सास्ती धेरै पटक व्यहोरेका बागलुङ बजारबासीमा नयाँ आशा पलाएको छ ।
राज्यको जिम्मामा रहेकोले नगरपालिकाले आम नागरिकलाई शुद्ध पानी खुवाउने गरी पुरानो समिति भंग गरेर नयाँ तदर्थ समिति गठन गरेको हो । यो समितिले काम पनि थालिसकेको छ । आएको दुइ साता नबित्दै खानेपानीको लाइन मर्मत गर्ने, लिफ्ट आयोजनाको पानी तान्न परीक्षण गर्ने काम भैरहेको छ । तर डिजाइनमा राखिएको पाइपबाट पानी तान्ने काम सफल हुने देखिएको छैन । तसर्थ समितिले नयाँ पाइप ल्याएर लिफ्टमा राखेर पानी बितरण गर्ने लक्ष राखेको छ । आम नागरिकलाइ पानी खुवाउने काम समितिले जसरी पनि पुरा गर्नुपर्छ भन्नेमा समिति समेत दृष्ढ बनेको छ ।
खानेपानी उपभोक्ता संस्थामा प्राविधिक चाहिनेमा राजनीतिक नियुक्तीबाट आएका कर्मचारीको भरमा छ । त्यस्ता कर्मचारीले काम गरेपनि प्राविधिक समस्या समाधान गर्न सक्दैनन् । खानेपानी शुद्ध छ की छैन, कसरी शुद्ध बनाउने भन्ने कुरा स्वास्थ्यकर्मीलाई थाहा हुन्छ । उनीहरुले परीक्षण गर्न पनि सक्छन् । खोलाको पानी सिधै मिसाएर पठाउन पछि नपर्ने कर्मचारीबाट आम नागरिकको स्वास्थ्यको समस्या बुझ्छन् भन्ने छैन ।
निर्माण, डिजाइन र स्टिमेटमा काम गर्ने संस्था भएकोले यहाँ इन्जिनियर चाहिन्छ । तर अहिले सम्म इन्जिनियर नभएकोले अधिकांस निर्माणका काम असफल भएका छन् । लिफ्ट खानेपानी आयोजना समेत ठेकेदारको भरमा छाड्दा अझै बनिनसकेको हो । ठेकेदारले राखेका इन्जिनियरको भर पर्दा अहिलेको समस्या देखिएको हो । कतै पाइपको डिजाइन मिलेको छैन भने भूगोल समेत कमजोर छनौट भएको छ । जसका कारण जुनुसुकै बेला पहिरो चल्ने र बस्तीलाई समेत जोखिम हुने देखिन्छ । अझै लिफ्टबाट पठाइएका माथिल्लो भेगका ट्यांकी बनाइएको जमिन समेत कच्चा छ की भन्ने धेरैले चासो राखेका छन् । ती ट्यांकी र जमिन कच्चा भएको खण्डमा तल्लो बस्तीनै खतरा हुनेछ । यी बिषय समावेश हुने गरी प्राविधिकको नियुक्ती गर्न सकेमा खानेपानीको धेरै समस्या समाधान हुनेछ ।
बाँकी रहेको अडिट गर्ने र साधारणसभाकालागि तयारी गर्ने काम भने नीतिगत हो । अर्थात धारा जडान गरेको कति समयमा मतदान र उमेदवारकालागि योग्य हुने भन्ने निक्र्यौल गर्नुपर्ने छ । किनकी सदस्यता लिएकै भरमा मतदाता हुने की नहुने, समिति गठन गर्दा बिज्ञ समूह चाहिने की नचाहिने, आदि कुरा महत्वपूर्ण छन् । निर्वाचित भएर आउने बेलामा पनि समितिको केही बिज्ञतालाई सदुपयोग गर्ने नीति बनाउन आबस्यक छ । समितिमा जानकालागि जाने काम भन्दा समय दिने, नेपाल सरकारका माथिल्लो तहमा सम्पर्क र समन्वय गर्ने तथा बजेट मार्फत पुन निर्माण, स्वच्छता र सरसफाइ युक्त खानेपानी खुवाउने कामलाई निरन्तरता दिनुपर्ने छ ।
एउटा कार्यक्रममा समितिका पदाधिकारीलाई नगर प्रमुखले शुल्क नतिरेका धारा काटिदिनुपर्ने सल्लाह समेत दिएका छन् । अर्थात काम एक्सनमा जानुपर्छ, जवकी आम नागरिकले तोकेकै समयमा पानी खान पाउनु पर्ने र त्यसकालागि समितिको आँखा छलेर गरिएका कामलाई पनि कारवाहीको दायरामा ल्याउनुपर्ने स्पष्ट नीति लिएको छ । यस्ता बिषयमा पनि खानेपानीका समितिले दृढ भएर काम गर्न सक्नुपर्छ ।
