नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको क्रममा खेलाडीले पाउनुपर्ने भत्ता प्रशिक्षकको खल्तीमा गएको पुष्टि भएको छ । कराते, जुडो, एथलेटिक्स, ट्राइयाथोलनलगायतका खेलमा सहभागी खेलाडीले पाउने भत्ता प्रशिक्षकले लिए पनि खेलाडीहरुले भने यो विषयमा सार्वजनिक रुपले बोलेका छैनन् । खेलाडीले पाउनुपर्ने सुविधा पटक–पटक खोसिएको र गुनासो गर्दा उल्टो धम्की आउने गरेको पनि खुलासा गरेका छन् । खेलबाट वञ्चित गराउनेसम्मका हर्कत हुने भएकाले पनि खेलाडी मौन देखिएका हुन् । प्रदेश खेलकुद परिषदकका लेखा अधिकृत नीलकण्ठ ढकालले खेलाडीले भत्ता नपाएका गुनासाहरु आएका र तीमध्ये केही समस्या समाधान गरिएको जानकारी गराएका छन् । उनको भनाइबाट पनि खेलाडीहरुमाथि शोषण भइरहेको पुष्टि हुन्छ ।
खेलकुद क्षेत्र गुण्डाहरुको कब्जामा रहँदै आएको गुनासो नयाँ हैन । विषयगत जानकारी नै नभएका, सो क्षेत्रमा संलग्न नै नभएका व्यक्तिहरुले खेल संस्थाहरुको नेतृत्व लिने प्रवृत्ति पनि रोकिएको छैन । खेलाडीको शोषणा गर्ने, स्रोत दोहन गर्नेहरुको बिगबिगी हुँदा वास्तविक खेलाडीहरुमाथि अन्याय भएको छ ।
खेलाडी राष्ट्रका गहना हुन् । खेलकुदले राष्ट्रको गरिमा बढाउँछ,पहिचान दिन्छ अनि जनतालाई एकतावद्ध गराउँछ । त्यसैले संसारभरका देशहरुले गच्छे अनुसार खेलकुद क्षेत्रमा लगानी गरेका हुन्छन् । विदेशतिर खेलेरै नाम र दाम कमाइन्छ । नेपालको हकमा भने ठीक उल्टो छ । उमेर भइञ्जेल खेलकुदमा लाग्नेहरु जीवनको उत्तरार्धमा भोकभोकै बस्नुपरेका अनेकौं दुखान्त कथाहरु हाम्रोमा रहेको छ । खेलाडीलाई सम्मान नगर्ने, उनीहरुको वृत्ति विकासलाई ध्यान नदिने प्रवृत्तिको अन्त्य भएकै छैन । अझ, खेलाडीकै नाममा आउने भत्ता र सुविधासमेत खोस्नु भनेको अन्यायमात्र नभएर अपराध हो । यस्तो अपराध कर्ममा संलग्नहरु दण्डित हुनैपर्छ । दोषीलाई दण्डित गरिएन भने विकृति झन बढ्दै जान्छ । अतः यो प्रवृत्तिको अन्त्य हुनुपर्छ । अख्तियारसहितका निकायहरुबाट यी घटनाको छानबिन हुने हो भने वास्तविकता बाहिर आउँछ । लथालिङ्ग र भद्रगोल खेल क्षेत्रमा भएका बेथितिबारे संघीय सरकार, खेलकुद मन्त्रालय एवं प्रदेश सरकारले छानबिन गनर््ुपर्छ ।
