बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

मुख्यमन्त्रीका सय दिन : ‘भावी दिनतिर हेर’

मुख्यमन्त्रीका सय दिन : ‘भावी दिनतिर हेर’


  • Dhorpatan News
  • साउन २२ २०८०, सोमबार

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारका सय दिन उपलब्धीपूर्ण भएको जिकिर गरेका छन् । गएको वैशाख १५ गते कार्यभार सम्हालेका पाण्डेले नीति तथा कार्यक्रम अनि बजेट ल्याउनुलाई मुख्य उपलब्धीको रुपमा अथ्र्याएका छन् भने अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन पनि प्रमुख उपलब्धी भएको जिकिर गरेका छन् ।

गोरखाबाट चुनावी प्रतिस्पर्धामा ओलिँदै गर्दा नै पाण्डेलाई मुख्यमन्त्रीको रुपमा प्रक्षेपित गरिएको थियो । नेपाली कांग्रेस–माओवादी केन्द्रसहितको गठबन्धनबाट उम्मेदवार बनेका उनलाई माओवादी केन्द्रका अध्यक्षले नै भावी मुख्यमन्त्रीको रुपमा चिनाएका थिए । पाण्डेले सजिलै चुनाव जिते । तर, एकाएक कांग्रेस–माओवादी गठबन्धन तोडियो । संघीय संसदमा एमालेको समर्थनले प्रचण्ड प्रधानमन्त्री बनिरहँदा पाण्डेको सपना तुहियो । तर, त्यो समीकरण लामो टिकेन ।

एकाएक पाण्डे प्रतिपक्षको बेञ्चबाट मुख्यमन्त्रीको कुर्सीमा पुगे । चुनावअघि नै मुख्यमन्त्रीको रुपमा प्रक्षेपित भएकाले पाण्डेसँग अपेक्षा बढी हुनु अनपेक्षित थिएन । उनी स्वयं पनि मुख्यमन्त्री बनेपछि के गर्ने भन्नेमा स्पष्ट हुनुपथ्र्यो । विज्ञहरुको परामर्शमा अल्पकालीन र दीर्घकालीन योजना निर्माण गरिनुपथ्र्यो । प्रदेशको सामथ्र्य के र कति छ ? परिवर्तनकारी योजनाहरु के हुन सक्छन् भन्ने तयारी गरिनुपथ्र्यो । तर, कार्यकालको सय दिन हेर्दा त्यस्तो देखिएन । यसअघिकै सरकारले सुरु गरेका डायलासिस सेवा र मेसिन खरिदजस्ता विषयलाई नै उपलब्धिको रुपमा प्रस्तुत गरे ।

सय दिनलाई हेरेर कसैको सफलता वा असफलता मापन गर्न सकिँदैन । यद्यपि,बिहानीले दिनको संकेत गर्छ भन्ने उक्ति मुख्यमन्त्रीको हकमा पनि लागू हुन्छ । सय दिनमा उनी नेतृत्वको सरकार औषत देखिएको छ । गोष्ठी, सम्मेलनको उद्घाटन गर्ने मोहबाट मुख्यमन्त्री मुक्त भएका छैनन् भन्ने उनको दैनिकीले देखाउँछ ।

वाचाल हुनु एउटा कुरा, ठोस नीति ल्याउनु अर्को कुरा हो । प्रदेशको सामथ्र्य बढेको छैन । जनताले सेवा प्रवाहमा सुनिश्चिता खोजेका छन् । त्यसको लागि बजेटको जोहो गर्नुपर्छ । पहिलो पञ्चवर्षीय योजनाका अधिकांश कामहरु कागजमै सीमित हुँदा अर्को पञ्चवर्षीय योजना बनाउनुपर्ने छ । स्रोत व्यवस्थापनको लागि राजश्व बढाउने, रोजगारी सिर्जना गर्ने तथा गौरवका भनिएका आयोजना समयमै सक्ने दायित्व अहिले मुख्यमन्त्रीको काँधमा छ । त्यसैले उनले सय दिनमा के गरेँ भन्नेभन्दा पनि आउँदा दिनलाई कसरी परिणाममुखी बनाउने भन्नेमा अर्जुनदृष्टि लगाउनुपर्छ ।

प्रादेशिक संरचनामाथि उठेका प्रश्नहरुको उत्तर मुखले हैन सेवा प्रवाहबाट दिनसकेमात्र मुख्यमन्त्रीको कार्यकाल स्मरणीय हुनेछ । कार्यकाल स्मरणीय बनाउन झिना–मसिना काममा अल्झने बानी छुटाउनुपर्ने अर्को आवश्यकता देखिएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->