पोखरा/ उच्च अदालत पोखराले पोखरा महानगरपालिकालाई वडा नं. ३२, लामेआहालस्थित अस्थायी ल्याण्डफिल साइटमै फोहोर फाल्ले बाटो खोलिदिएके छ । स्थानीयको स्वच्छ वातावरण अधिकारको हनन भएको भन्दै ल्याण्डफिल साइट रोकी पाऊँ भनी स्थानीयको तर्फबाट दिइएको रिटको विपक्षमा अदालतले आदेश गरेको हो । आइतबार उच्च अदालतको इजलास २ मा न्यायधीशद्धय रमेशप्रसाद राजभण्डारी र ऋmषिराज भण्डारीको संयुक्त इजलासले पोखरा महानगरपालिकाको पक्षमा आदेश गरेको हो । उच्च अदालत पोखराका रजिष्टार श्रीलाल पौडेलले पोखरा महानगरपालिकालाई ‘आफ्नो काम गर्नू’ आदेश गरेको जानकारी दिए ।
‘दुबै पक्षको कुरा सुनेर अदालतले महानगरपालिकालाई आफ्नो काम अगाडी बढाउन र अहिले भर्रखरै रोक्न आवश्यक देखिएन भनेर अदालतले भन्यो । दुबै पक्षलाई झिकाएर अन्तरिम छलफल भयो । त्यो छलफलबाट निवेदकले मागे बमोजिम अन्तरिम आदेशचाहिँ त्यो काम रोक्नू भन्ने खालको भएन,’ उनले भने, ‘अब महानगरले पहिला व्यवस्थापन गरे अनुसार नै काम अघि बढाउँदा हुन्छ । यसको अन्तिरिम आदेश आउन समय लाग्छ ।’ पौडेलका अनुसार आइतबार दुबै पक्षलाई बोलाएर छलफल भएको थियो ।
छलफलको दौरान महानगरपालिकाले तत्कालका लागि फोहोर व्यवस्थापन लामेआहाल बाहेक अन्यन्त्र सम्भव नभएको जिकिर गरेको थियो । अब महानगरले सोही स्थानमा फोहोर फाल्न पाउनेछ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अदालतले फोहोर फाल्न आदेश दिए पनि स्थानीयसंग वार्ता पश्चातमात्रै फोहोर व्यवस्थापन गर्ने बताए । ‘हामीअहिले नै त्यहाँ फोहोर फाल्दैनौं । स्थानीय साथीहरुसँगको छलफल पश्चात मात्रै फोहोर व्यवस्थापन गछांर्,ै मेयरले भने । पोखरा ३२ का रविन केसी, तिर्थेन्द्र बहादुर केसी, बजेन्द्रबहादुर गुरुङले साउन ११ गते उच्चमा रिट हालेका थिए ।
स्थानीयको अवरोधका कारण लामेआहालमा फोहोर व्यवस्थापन सम्भव नभएपछि महानगरले शनिबारदेखि पोखरा ९ नयाँबजार दमकल शाखाको खाली जग्गामा खाल्डो खनेर फोहोरको अस्थायी व्यवस्थापन सुरु गरेको छ । मुख्य बजार क्षेत्रमा फोहर थुप्रिएर दुर्गन्ध भएपछि उठाएर गाडीमै राखिएको थियो । तर, फोहोर व्यवस्थापन गर्न जाने स्थिति नै नबनेपछि महानगरले नयाँबजारमै व्यवस्थापन गरेको हो । स्थानीय बासिन्दा अवरोधका कारण १० दिनदेखि महानगरको फोहोर उठ्न बन्द भएको छ । महानगरले स्थानीयसँग पटक–पटक वार्ता गरे पनि असफल भइरहेको छ । महानगरले सम्झौता अनुरुप काम नगरेको र भनको काम समेत नगरेको भन्दै स्थानीयले गफाडी मेयर भन्दै बिहीबार कालोझण्डा समेत देखाएका थिए ।





