पोखरा/ पोखरामा नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मल बढी मूल्यमा बिक्री गरेको पाइएको छ । पोखरा महानगरको मल वितरण व्यवस्थापन समितिबाट भएको अनुगमनको क्रममा प्रतिकिलो १० देखि १५ रुपैयाँसम्म बढी मूल्यमा मल बिक्री भएको पाइएको हो ।
अनुदानको मलमा कालोबजारी भएको गुनासोसँगै पोखरा महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख ठाकुरप्रसाद बास्तोला र महानगर कृषि महाशाखा प्रमुख मनहर कडरिया सहितको टोली अनुगमनमा निस्केको थियो ।
पोखरा १० मा रहेको अमरसिंह कृषि सहकारीले २१ रुपैयाँको युरिया ३५ र ५० रुपैयाँको डिएपी ६५ रुपैयाँमा बिक्री गरेको फेला पाइएको महानगरका कृषि महाशाखा प्रमु्ख मनोहर कडरियाले बताए ।
पोखरा महानगरको मल वितरण व्यवस्थापन समितिको साउन १२ गतेको बैठकले सरकारी अनुदानमा प्राप्त हुने मलको मूल्य निर्धारण गरेको थियो ।
महानगरले युरिया मल डिपोदेखि बिक्री केन्द्रको दूरीका आधारमा प्रतिकिलो १९ रुपैयाँ ४५ पैसादेखि २१ रुपैयाँ ५ पैसासम्म, डीएपी मलको मूल्य प्रतिकिलो ४८ रुपैयाँ ४५ पैसादेखि ५० रुपैयाँ ५ पैसा मूल्य तोकेको थियो । महानगरले मल बिक्रीको क्रममा प्लास्टिकको झोलाको बढीमा प्रतिकिलो २ रुपैयाँसम्म लिन पाउने निर्णय पनि गरेको थियो ।
कृषि महाशाखा प्रमुख कडरियाका अनुसार सो सहकारीले मल बिक्री वितरण गर्ने अनुमति नै नलिएको पाइएको छ । पसल दर्ता भए पनि मल, विषादी र बीऊबिजन बिक्री अनुमतिसमेत नलिएकाले सो पसलका संचालकलाई सोमबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन र बाँकी रहेको मल बिक्रीमा रोक लगाइएको छ ।
बिक्रीका लागि राखिएको २५ बोरा युरिया, ६ बोरा डिएपी र ५ बोरा पोटास सिल गरिएको पनि उनले जानकारी दिए । त्यस्तै उपभोक्ता सहकारी संघले पनि कृषि सामग्री कृषि सामग्री कम्पनी लिमिटेडबाट अनुदानमा ल्याएको मल अनुमति नपाएका सहकारी र पसललाई बढी मुल्यमा बिक्री गरेको अनुगमनमा फेला पारेको हो । संघले कार्यक्षेत्र भन्दा बाहिर मल पठाउने गरेको, बिलबिजक जारी नगरेको,मूल्यसूची नराखेको, कृषि सामग्रीबाट ५० बोरा र साल्ट टे«डिंग कर्पोरेशन लिमिटेडबाट ३५ बोरा युरिया ल्याएको फेला परेको छ ।
कृषि सामग्रीबाट साउन १८ गते ल्याएको सबै मल बिक्री गरेको अनुगमनमा देखिएको छ । अनुगमन टोलीले सो सहकारी संचालकलाई पनि सोमबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।
अघिल्लो आर्थिक वर्षमा पोखरामा युरिया, डीएपी र पोटास गरेर १ हजार ९७७ टन मल खपत भएको थियो । अघिल्लो आर्थिक वर्षमा युरिया १ हजार २२१.७५ टन, डीएपी ६६३.८५ टन, पोटास ३९.९५ टन र कृषि चुन २.१ टन खपत भएको कृषि महाशाखा प्रमुख कडरियाले जानकारी दिए । यो वर्ष महानगरले पोखराका २६ वटा वडाका ६७ वटा केन्द्रबाट मल बिक्री–बितरण गर्ने व्यवस्था मिलाएको थियो । ती सबै बिक्री केन्द्रहरु सूचीकृत थिए ।





