पोखरा/ जिल्ला समन्वय समिति कास्कीले ‘समितिको भूमिका र सीमाहरू विषयक वैचारिक अन्तक्र्रियासहित स्थापना दिवस मनाएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कार्यक्रमको उद्घाटन गरे । उनले जिल्ला समन्वय समितिका सन्दर्भमा निर्माण भएका कानूनहरूको प्रभावकारी कार्यान्वयन सहित भएका अप्ठ्यारा हटाउन थप कानून बनाउन सरकारका निकायहरू क्रियाशिल भएको बताए ।
गण्डकी प्रदेशसभा सदस्य तथा निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले जिल्ला समन्वय समितिको बारेमा संविधानले व्याख्या गरेका व्यवस्था खुल्ला दिलले कार्यान्वयन गर्नुको विकल्प नभएको बताए ।
सो अवसरमा नेपाल सरकारका पूर्वसचिव रेष्मीराज पाण्डेले जिल्ला समन्वय समितिको भूमिका र सीमाहरू विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यपत्रमाथि प्रतिनिधिसभा सदस्यहरू दामोदर बैरागी,मनबहादुर गुरुङ, शिव नेपाली, प्रदेशसभा सदस्य राजकुमारी भुजेल,सरस्वती गुरुङ,प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरे,मुख्य न्यायाधिवक्ता चिरञ्जीवी पौडेल शर्मा,गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डे, गाउँपालिका महासंघ गण्डकीका अध्यक्ष नवराज ओझा,गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेत ,पूर्व जिविस सभापति पुण्य पौडेल,निवर्तमान जिसस प्रमुख बैनबहादुर अधिकारी लगायतले टिप्पणी गरे ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले समन्वय समितिहरूले भए गरेका व्यवस्था र अधिकारहरूको उच्चतम सदुपयोग गर्दै काम गर्न आग्रह गरे ।





