बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बदलिँदो नेपाल र सम्बन्ध विच्छेदको बढोत्तरी

बदलिँदो नेपाल र सम्बन्ध विच्छेदको बढोत्तरी


  • Dhorpatan News
  • साउन २३ २०८०, मंगलबार

पछिल्लो समय पति–पत्नीबीच सम्बध विच्छेदका घटनाहरुमा बढोत्तरी भएको छ । म्याग्दीलाई उदाहरण मान्ने हो भने, अदालतमा परेका मुद्दाहरुमध्ये ५० प्रतिशत सम्बन्ध विच्छेदकै रहेका छन् । आर्थिक वर्ष २०७९/०८० मा कुल ६२० मध्ये ३५२ मुद्दा सम्बन्ध विच्छेदको दर्ता हुनुले हाम्रो समाज कता जाँदैछ भन्ने छर्लङ्ग पार्छ । सम्बन्ध विच्छेदका अनकों कारण छन् ।

तर, वैदेशिक रोजगारीले निम्त्याएको पारिवारिक बेमेल,महिला जागरण र आत्मनिर्भरता,अनमेल विवाहलाई यसको प्रमुख कारणको रुपमा लिइएको छ । यौनजन्य गतिविधि, बढ्दो कटुतालाई पनि सम्बन्ध विच्छेदको कारण मानिएको छ । जे होस्, देशैभरको तथ्याङ्क हेर्दा सम्बन्ध विच्छेद बढ्दो छ र पारिवारिक विखण्डनले अनेकौं गम्भीर समस्या निम्त्याइरहेको छ । खासगरी सन्तानको जन्मपछि हुने विच्छेदका घटनाले बालबालिकामा गहिरो मनौवैज्ञानिक असर पु¥याएको छ । भविष्य नै अन्धकार बन्ने वा अपराध कर्ममा होमिने खतरा बढेको छ ।

चित्त नबुझे वा हिंसा सहेर पनि सम्बन्ध टिकाइ राख्नुपर्छ भन्ने हुँदैन । तर, जोडिएको सम्बन्ध बिखण्डन हुँदाको परिणति पनि अक्सर राम्रो हुँदैन । सम्बन्ध विच्छेद गरेका महिलाले सामाजिक रुपले सहुनुपर्ने सामाजिक अपहेलना र संघर्ष कठीन हुन्छ । अधिकार प्राप्तिको लडाइँ त छँदैछ ! त्यसो त वैदेशिक रोजगारीमा हाड घोटेर कमाएको पैसा र परिवार विखण्डन सहन अभिषप्त पुरुषको पीडा पनि कम्ति चाहिँ हुँदैन । हाम्रो संसार अनुसार विवाह पवित्र बन्धन हो ।

विवाहमा त्याग र समर्पण हुन्छ । सामाजिक मान्यताहरु तोडिँदा,एकाङ्की परिवारको संख्या बढ्दा वा सँगोलमा नबस्दा एवं पुरुष लामो वैदेशिक रोजगारमा जाँदा विखण्डन बढेको हो । यसको निराकरणको लागि संयमता र आत्मियपन बढाउनु जरुरी देखिएको छ । परिवार बिग्रनु एउटा व्यक्ति बिग्रनुमात्र हैन, उनीहरुमाथि आश्रितको भविष्य नै बिग्रनु पनि हो भन्ने सोच्नुपर्छ ।

सम्बन्ध विच्छेदले निम्त्याउने समस्या सामाजिक समस्या नै हो । विभिन्न राज्यले यस्ता प्रवृत्ति निरुत्साहित गर्न मनोसामाजिक परामर्शसहितका कार्यक्रम संचालन गरेका छन् । नेपालको सन्दर्भमा पनि त्यो आवश्यकता खट्किँदै गएको छ । परिवार र सम्बन्ध जोगाउनु सफल हुनु पनि हो । वर्तमान पुस्ताले यो विषयलाई गम्भीर रुपले लिनुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->