बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

आँखा जोगाऔं

आँखा जोगाऔं


  • Dhorpatan News
  • साउन २४ २०८०, बुधबार

देशका विभिन्न भागमा आँखा पाक्ने रोग ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’ को संक्रमण बढेर गएको छ । संक्रमण बढेसँगै आँखा अस्पतालहरु भरिभराउ भएका छन् । नेत्ररोग विशेषज्ञहरुले आँखाको हिफाजत गर्न र संक्रमण भएमा अस्पताल जान सुझाएका छन् । सबै उमेर समूहमा यो भाइरसको संक्रमण देखिए पनि बालबालिका र वृद्धाहरु बढी प्रभावित भएको चिकित्सकहरुको भनाइ छ । हावाबाट नसर्ने तर संक्रमितले प्रयोग गरेका सामानहरु छुँदा सर्ने हुँदा संक्रमितहरुलाई छुट्टै बस्न पनि सुझाव दिइएको छ ।

आँखाको यो संक्रमणलाई डाक्टरहरुले कोरोना भाइरससँग तुलना गरेका छन् । संक्रमण फैलन नदिन र बालबालिकालाई जोगाउन पोखरा महानगरपालिकासहित देशका केही पालिकाहरुले केही समय विद्यालय बन्दको घोषणा गरेका छन् । निर्णय स्वागतयोग्य छ ।

आँखा शरीरको महत्वपूर्ण अंग हो । सानो हेलचेक्रयाइँले पनि आँखाको ज्योति गुम्नसक्छ । पछिल्लो समय नेपालमा अन्धोपन निवारणका लागि भएका प्रयासहरु प्रशंसनीय छन् । सन् २०८१ मा ०.८४ रहेको अन्धोपनको अवस्था अहिले सन् २०२२ मा आइपुग्दा ०.२८ मा झरेको छ ।

नेपालमा हाल १ लाख २० हजारभन्दा बढी मानिसहरु अन्धोपन भोगिरहेका छन् । डा.सन्दुक रुइतजस्ता होनाहार नेत्रचिकित्सकको अथक मिहिनेतबाट नेपालले मोतिविन्दुको उपचारमा विश्वकै सस्तो र उत्कृट सेवा पस्किरहेको छ । तर, विभिन्न कारणबाट आँखाको ज्योति गुमाउनेहरुको कमी पनि छैन । ग्रामीण भेगमा मोतिविन्दुकै समस्या झेल्नेहरु धेरै रहेको तथ्याङ्कले देखाएको छ । अज्ञानता र गरिबीले आँखाको ज्योति फर्काउन सकिन्छ भन्ने ज्ञान नभएका पनि भएको स्वयं डा. रुइतले बताएका छन् ।

अन्धोपन फर्काउन र हुन नदिनका लागि सचेतना अभियान संचालन गर्नैपर्छ । यो एक व्यक्तिले गरेर सम्भव हुने हैन । चोटपटक,बेलाबेला आउने रोगबाट आँखा बचाउनको लागि व्यक्ति स्वयं पनि जागरुक हुनैपर्छ । विद्युतीय सामग्रीको बढ्दो प्रयोगमा कमी ल्याउनेतर्फ पनि पहल हुनुपर्छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->