संसद जनताको आवाज मुखरित गर्ने थलो हो । संसदमा राष्ट्रिय हित, आवश्यकता र जनजीविकाका सवालहरुबारे गम्भीर बहस हुनुपर्छ ।बहुमतद्धारा सत्ता संचालन र अल्पमतको खबरदारी लोकतन्त्रको आधारशिला हो । यो आधारशिलामै टेक्दा ‘जाँच र सन्तुलन’ कायम हुन्छ । सत्ता पक्षले प्रतिपक्षको आवाज सुन्नुपर्छ र सम्मान गर्नुपर्छ भने प्रतिपक्षले रचनात्मक सुझाव दिँदै सरकारको खबरदारी गरिरहनुपर्छ । लोकतन्त्रका आधारभूत मान्यतालाई कुल्चँदा सरकार निरंकुश बन्ने सम्भावना रहन्छ ।
प्रतिपक्षले कुतर्कको बलमा आलोचना मात्रै गर्दा पनि संसदीय मर्यादामा आँच आउँछ । सदनमा पक्ष र प्रतिपक्षको बेञ्चमा बसे पनि दुबै पक्षमा आफूलाई जनप्रतिनिधि हौँ भन्ने भावना हुनुपर्छ । जे कुरामा पनि छिर्के हाल्ने, आफू अनुकूल नभए सदन अवरुद्ध गर्नु भनेको कसैको मानमर्दन वा आलोचना मात्रै गर्नु जनप्रतिनिधिको भूमिका हैन । आवश्यकता हेरी प्रतिपक्षले लचकता अपनाउनुपर्छ अनि सकेसम्म विपक्षीलाई पनि साथ लिएर अघि बढ्ने प्रयत्न सत्तापक्षबाट गरिनुपर्छ । विशेष मुद्दाहरुमा सत्ता र प्रतिपक्षको एउटै आवाज हुन्छ ।
राष्ट्रियताको सवालमा संघीय संसदले त्यसको नमूना पेश गरिसकेको छ । संघीयता कार्यान्वयन गर्ने महत्वपूर्ण निकायको रुपमा रहेको प्रदेशसभामा सहकार्यको प्रयत्न हुँदा राम्रै सन्देश प्रवाहित गर्छ । तर, पछिल्ला दिनहरुमा सत्ता र प्रतिपक्षको दूरी बढ्दै घट्नुको साँटो बढ्दै गएको पाइएको छ । सत्तापक्षले प्रतिपक्षको आवाजै नसुन्ने र प्रतिपक्षले खालि आलोचना मात्रै गर्नाले सदन अवरुद्ध हुन पुगेको छ । सुन तस्करी प्रकरणमा प्रमुख प्रतिपक्षी एमालेले उच्चस्तरीय छानविन समितिको माग गरिरहेको छ भने सत्ता पक्षले त्यसलाई अस्वीकार गर्दै आइरहेको छ । सुन प्रकरणमा सत्तारुढ दलका ठूला नेता पनि संलग्न भएको एमालेको आरोप छ । सरकारले भने तत्काल उच्चस्तरीय छानविन समिति नचाहिने अडान लिएको छ ।
जसले गर्दा संसद अवरुद्ध छ । संसद अवरुद्ध हुनलाई कुनै पनि कोणबाट राम्रो मान्न सकिँदैन । लामो समयसम्म संसद अवरुद्ध हुनु राम्रो हैन । असमझदारीका विषयहरु संसदमै उठान गर्न सकिन्छ । संसद चल्नै नदिने र विपक्षीको कुरा सुन्नै नचाहनु अतिवाद हो । यसले लोकतन्त्रको मर्ममाथि प्रहारमात्रै गर्दैन्,संसदीय व्यवस्थालाई नै कमजोर बनाउँछ । यो खतराप्रति दुबै पक्ष सचेत बन्नुपर्छ । सदनलाई जनताका आवाज बोल्ने थलो बनाउनेतर्फ दुबै पक्षले लचकता अपनाउनुपर्छ । सदन संचालनको सत्ता पक्षले बढी लचकता देखाउनुपर्छ ।
