कास्की/ पोखरा महानगरपालिकाले सम्पत्ति, व्यवसाय, बहाल, भूमिलगायत आन्तरिक राजस्वका सबै शीर्षकमा दोब्बरभन्दा बढीले राजस्वमा वृद्धि गरेपछि सेवाग्राहीले विरोध गरेका छन् ।
महानगरपालिकाले एक्कासी कर वृद्धि गरेपछि नागरिकहरु रिसाएका छन् । बुधबार जागरुक नागरिक समाज कास्कीले कर वृद्धिको विरोधसहित मेयर धनराज आचार्यलाई ज्ञापनपत्र बुझाएका छन । समाजका अध्यक्ष रामहरि ढुङ्गानाले जनतालाई कर बढेर परेको पीरमर्कालाई स्थानीय सरकारले सुन्नुपर्ने बताए ।
मेयर धनराज आचार्यले महानगरको एउटा र मालपोतको अर्को कर गर्न नमिल्ने भएकाले कर वृद्धि भएको जिकिर गरे । महानगरबाट सिफारिस लिएर जाँदा मालपोतले फिर्ता पठाउँदा सेवाग्राहीले सास्ति खेप्दा विचौलियालाई फाइदा हुँदै आएको र त्यसको अन्त्य कर वृद्धिले गर्ने उनको भनाइ छ ।
उनका अनुसार केही वडाहरुमा मात्रै भूमिकर वृद्धि भएको हो । महानगरले गत असार १० गते आर्थिक वर्ष २०८०÷०८१ को लागि ७ अर्ब १५ करोड १५ लाख रुपैयाँको बजेट ल्याएको थियो । महानगरले आन्तरिक स्रोतबाट मात्रै आगामी आर्थिक वर्षमा २ अर्ब २७ करोड ८७ लाख संकलन गर्ने लक्ष्य लिएको छ । चालु आर्थिक वर्ष २०७९/०८० मा महानगरले ३ अर्ब १ करोड रुपैयाँ आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।
आव २०७९/०८० मा महानगरको बजेट भने ८ अर्ब ७७ करोड ७५ लाखको ल्याए पनि आन्तरिक राजस्व लक्ष्य अनुसार संकलन गर्न सकेन । आगामी वर्षमा आन्तरिक राजस्व संकलनको लक्ष्य घटाइएको छ । तर, आर्थिक विधेयक २०८० अनुसार भने चालुृ आर्थिक वर्षको तुलनामा महानगरमा सम्पत्ति, व्यवसाय, बहाल, भूमिलगायत आन्तरिक राजस्वका सबै शीर्षकमा दोब्बरभन्दा बढीले राजस्व वृद्धि गरेको हो ।





