शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

विशालु किंग कोब्राको उद्धार पछि जंगलमा छाडियो

विशालु किंग कोब्राको उद्धार पछि जंगलमा छाडियो


  • ढोरपाटन संवाददाता
  • भाद्र १७ २०८०, आइतबार

पोखरा/विश्वकै सबैभन्दा विषालु सर्प किंग कोब्रा (राज गोमन) पोखराको लामाचौरमा भेटिएको छ । लामाचौरमा एक किसानको घरमा भेटिएको किंग कोब्राको उद्धार गरी जंगलमा छाडिएको छ । जंगलमा मात्रै भेटिने किंग कोब्रा आहाराको खोजीमा वस्तीमा पसेको उद्धारकर्ता आर्सोन क्षेत्रीले जानकारी दिए । किंग कोब्राको उद्धार आर्सोन क्षेत्री, आकाश भण्डारी र वसन्त शेर्पाले गरेका हुन् ।

‘यो गोठमा थियो विहान ९ बजेतिर छिरेको रहेछ । हामीले १२ बजेमात्रै खबर पायौँ, त्यतिबेला त्यहाँ भीड जम्मा थियो । भगाउनका लागि मट्टितेल र धुवाँहरु बनाउनुभएको रहेछ । सर्पको शरिरमा मट्टितेल थियो,क्षेत्रीले भने,‘यो मानव वस्तीको बिचमा खासै पाइँदैन तर घना जंगलमा पाइने सर्प हो । आहाराको खोजीमा आउने गर्छ । सर्पलाई मट्टितेल खन्याएको देख्दा निकै दुख लाग्यो । यो गलत हो । हामीले उद्धार गरेको कोब्रा पोथी हो ।’ सर्पको उद्धार गरी डिभिजन वन कार्यालयका प्रतिनिधिको रोहबरमा जंगलमा सुरक्षित साथ छाडिएको छ । सर्पले पर्यावरणलाई अनुकुल राख्न ठुलो मद्धत गर्ने हुँदा कुनै पनि सर्प देखेमा आफुहरुलाई सम्पर्क गर्न अनुरोध गरे । सामाजिक संजालमा समेत आर्सोन क्षेत्री भनेर खोजेमा आफुहरुको नम्बरसमेत भेट्ने उनले सुनाए ।

किंग कोब्रा संसारको सबैभन्दा लामो विषालु सर्प हो । यसले १०० मिटर टाढाबाट कुनै पनि रोचक कुरा स्पष्ट रूपमा देख्न सक्छ । जब किंग

कोब्राले खतरा महसुस गर्छ, यो आफ्नो विशेषता मेरुदण्डको साथ आधा खडा हुन्छ र मुखको नजिक हुँड खोल्छ । यसको विशेषता यसको विष होइन तर पीडितलाई टोक्दा निस्कने विषको मात्रा हो । प्रत्येक चोटी टोक्दा यसले करिब ७ एमएल विष निकाल्छ । यसले एक पटकमा तीनदेखि चार पटक टोक्छ । यसको टोकाइले मानिसलाई १५ मिनेटमा र हात्तीलाई केही घण्टामा मार्न सक्छ । पछिल्लो समय पोखरामा धेरैमात्रामा किंग कोब्रा भेटिएको आर्सोनको भनाइ छ । शनिबार फेला परेको किंग कोब्रा पाँच वर्षको मात्र रहेको र करिब पाँच फिटको रहेको छ ।

डिभिजन वन कार्यालय कास्कीका प्रतिनिधि मीनबहादुर क्षेत्रीले वन कार्यालयमा सर्प उद्धारगर्ने सामग्री भए पनि दक्ष जनशक्ति अभाव भएको बताए । उनले पोखरामा सर्प उद्धारकर्ता भएपनि उनीहरुसँग समन्वय नहुँदा समस्या आइरहेको सुनाए । उनले कुनैपनि जनावरलाई मार्न नहुने र त्यसको उद्धार गरेर जंगलमा छाड्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->