बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बढ्दो घृणाको राजनीति र लोकरिझ्याइँ

बढ्दो घृणाको राजनीति र लोकरिझ्याइँ


  • Dhorpatan News
  • भाद्र १९ २०८०, मंगलबार

काठमाडौंका मेयर बालेन्द्र साह उर्फ बालेनले शनिबार सामाजिक सञ्जालमार्फत् उत्तेजक अभिव्यक्ति सार्वजनिक गरे । आक्रोश ट्राफिक प्रहरीप्रति लक्षित थियो । कारण नखुलाइएको सो अभिव्यक्तिमा महागनरको गाडीलाई ट्राफिक प्रहरीले रोकेको र आइन्दा त्यस्तै भए सिंहदरबार जलाउने धम्कीमात्र थिएन,सरकारमाथि गम्भीर आक्षेप पनि थियो ।

सामाजिक सञ्जालमा लोकप्रिय उनको अभिव्यक्ति छिनमै आगोसरी फैलियो । कयौंले उनको ‘स्टाटस्’लाई शेयर र लाइक गरे । अन्धभक्तहरु समर्थनमा उत्रनु स्वभाविक नै थियो । सञ्जनहरु भने सामाजिक सञ्जालमार्फत् आगो ओकल्दै आएका बालेनको उत्तेजक अभिव्यक्तिको कारण खोज्न लागे । तथ्य सार्वजनिक भयो । बालेनपत्नी महानगरको सवारीमा यात्रारत रहेछिन् । शनिबारको दिनमा सार्वजनिक अनुमतिपत्रबिना सरकारी सवारी चलाउन निषेध छ । ट्राफिक प्रहरीले कानूनतः सो गाडीलाई रोकेर सोधपुछ गरेको रहेछ । बालेनले त्यही रिस सामाजिक सञ्जालमार्फत् पोखेका रहेछन् ।

लगत्तै बालेनको आलोचना सुरु भयो । आलोचनाकै बीच ‘रुटीन अफ नेपाल बन्द( आरओएनबी)’भन्ने लोकप्रिय पेजले बालेन दम्पत्तिलाई पुत्रीलाभ भएको भन्दै बधाइ दियो । बालेनको सचिवालयले विज्ञप्ति निकालेर ट्राफिक प्रहरीमाथि विषबमन ग¥यो । प्रकरण विषयान्तर भयो । शिशु अस्पतालमा रहेका बेला प्रहरीले अनावश्यक दुःख दिएको भन्दै फेरि सामाजिक सञ्जाल प्रयोगकर्ताहरु उग्र बने । तर,शिशु ९ दिनअघि नै जन्मेको जानकारी प्राप्त भयो । बालेनको उग्रताको आलोचना भएसँगै उनले सामाजिक सञ्जालबाट सो स्टाटस् हटाएका छन् । रुटिन अफ नेपाल बन्द’ भन्ने पेज पनि बन्द गरिएको छ । चेकजाँचमा खटिएका सई सुशील न्यौपानेको परिवार तनावमा प¥यो । सुशीलकी आमा स्वयं बालेनको घर पुगिन् । आफ्नो छोराले कानून पालना गरेको र गल्ती नगरेको स्पष्टीकरण दिएको पनि सार्वजनिक भएको छ । नेपालीको बिर्सने बानी छ । हामी छिट्टै पुराना कुरा बिर्सन्छौं । बालेनको अभिव्यक्ति पनि मान्छेले केही समयपछि बिर्सेलान् । तर, काठमाडौं महानगरपालिकाका मेयरले सामाजिक सञ्जालमार्फत् दिएको घृणापूर्ण अभिव्यक्तिले हाम्रो समाज कता जाँदैछ र कस्ता मान्छे नेतृत्वमा आएका छन् भन्ने छनक दिएको छ ।

देशमा पुराना नेताहरुले केही गरेनन् भन्ने भाष्य निर्माण भएको छ । त्यही भाष्यको जगमा टेकेर बालेनसहित धरानमा हर्क साङपाङको उदय भएको हो । तर, यी दुवै मेयरहरुको अभिव्यक्तिमा ‘ब्रेक’ लाग्दैन । यी दुवैसँग आफ्नो मर्यादा, अर्काको अधिकार र नैतिकताको अलिकति पनि भेउ भएको देखिँदैन । विद्धेषपूर्ण र गैरजिम्मेवार अभिव्यक्ति यी दुवैको विषेशता बनेको छ । म सर्वेसर्वा हुँ भन्ने भ्रमको घोडामा सवार यी दुवैले अन्यको अस्तित्व अस्वीकार गरिरहेका छन् ।

समग्रमा घृणा फैलाउने अनि असन्तुष्ट जमातलाई रिभाउँदै स्वार्थको रोटी सेक्ने काम गरिरहेका छन् । हिंश्रक चरित्रका यी पात्रसँग हाम्रो सामाजिक बनोट, कानून र व्यक्तिका सीमा अनि सहअस्तित्वप्रति विश्वास नभएको देखिएको छ । जो खतरनाक र कानूनी रुपले निन्दनीय छ । सामाजिक सञ्जालमै रमाउने र अर्कालाई खसालेर आफू अग्लो भएको महसुस गर्ने बेलगाम पात्रहरुको घृणापूर्ण राजनीतिक मक्सदबाट समाजलाई बचाउनुपर्छ । यसो भनिरहँदा अन्य राजनीतिक दलहरुले पनि सच्चिने बाटो समात्न चाहिँ आवश्यक देखिन्छ । घृणा र लोकरिझ्याइँको राजनीतिकले कसैको भलो गर्दैन भन्ने मनन गर्नैपर्छ । युवाहरुमाझ लोकप्रिय बनेका र आशा गरिएका बालेन र हर्क स्वयं पनि संयम बन्नुपर्छ । आगो लगाउन जति सजिलो छ,निभाउन त्यति नै कठीन हुन्छ भन्ने मनन गर्न जरुरी देखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->