पोखरा/लेखनाथ उद्योग वाणिज्य संघको २७ औं वार्षिक साधारण सभा तथा १४ औं अधिवेशन आज सुरु हुँदैछ । साधारण सभाको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले उद्घाटन गर्दैछन् ।
आगामी २ वर्षको लागि नयाँ नेतृत्व चयनसमेत गर्ने भएकाले अधिवेशनको रौनकले लेखनाथलाई छोपेको छ । चुनावमा वर्तमान वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठ र भरतकुमार अधिकारी प्यानलसहित मैदानमा उत्रिएका छन् । दुवै उम्मेदवारले आफ्नो समूह उद्योगी/व्यवसायीको साझा समूह बताए पनि समूह राजनीतिक आस्थाको जगमा उभिएको छ । विनोदले एमाले र माओवादी केन्द्र समर्थित व्यवसायीहरुको प्रतिनिधित्व गरिरहेका छन् भने भरत नेपाली कांग्रेस निकट व्यवसायीहरुको आड भरोशामा मैदानमा उत्रिएका छन् । अघिल्लो पटक विनोदसँग ५८ मतले पराजित भरत योपटक जसरी भए पनि विजय हासिल गर्ने दाउमा छन् भने वरिष्ठ उपाध्यक्षको भूमिका निभाइसकेका विनोद योगदानको आधारमा आफू विजय हुनेमा ढुक्क छन् । यद्यपि, को अध्यक्ष बन्ने भन्ने फैसला चाहिँ लेखनाथ उवा संघका एक हजार ८६६ सदस्यले शनिबार हुने मतदानमार्फत् छिनोफानो गर्नेछन् ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र ओझा र ऋषिराम जमरकट्टेलबीच प्रतिस्पिर्धा हुँदैछ भने प्रथम उपाध्यक्षमा गोपीचन्द्र बास्तोला र उपेन्द्र सुवेदी‘राजु’भिड्दैछन् । द्धितीय उपाध्यक्षमा वर्तमान कार्यसमिति सदस्य विक्रम कर्माचार्य तथा यसअघि उपमहासचिवमा प्रतिस्पर्धा गरेकी मेनका श्रेष्ठ आमने–सामने छन् ।
महासचिवमा वर्तमान उपमहासचिव जानुका पराजुली अधिकारी र जीवन तिवारी मैदानमा उत्रिएका छन् । जानुका कार्यसमिति सदस्य र उपमहासचिव हुँदै महासचिवको उम्मेदवार बनेकी हुन् । सानै उमेरमा विहे गरे पनि पढाइ र व्यवसायलाई निरन्तरता दिएकी उनी महासचिवमा विजयी बने लेखनाथमात्र हैन, यो क्षेत्रको उद्योग वाणिज्य संघमा नै सम्भवतः पहिलो महासचिव महिला बन्नेछन् । उपमहासचिवमा भरतराज ओझा र भीमबहादुर सार्की‘माइला’बीच प्रतिस्पर्धा हुँदैछ भने कोषाध्यक्षमा ध्रुवबाबु भट्टराई र पुष्पमणि सुवेदी भिड्दैछन् । २ महिला सदस्यको लागि ४ जना मैदानमा छन् । जमुना गिरी,प्रतिभा रानाभाट,प्रभाकुमारी पौडेल लामिछाने र सुमित्रा बञ्जरा सो पदका उम्मेदवार हुन् ।
एसोसियटमा भने प्रेमप्रसाद शर्मा निर्विरोध बनेका छन् । एक सिटमा उनको मात्र उम्मेदवारी परेको थियो । उनी निजी विद्यालय संचालक हुन् । संस्थागतमा विजय गुरुङ र कुलबहादुर रानाभाट मैदानमा देखिएका छन् भने कार्यसमितिका ८ खुला सदस्यको लागि अर्जुंन भण्डारी,भविन्द्र पुन,भरत थापा,भुवानीप्रसाद पौडेल,विजय न्यौपाने,विन्दुचन्द्र बराल,वीरेन्द्र बानियाँ,वीरेन्द्रराज भुर्तेल,गंगाकुमारी मल्ल,हरि बस्ताकोटी,खेमराज बराल,कृष्णप्रसाद सुवेदी, लक्ष्मीप्रसाद ढुंगाना,राजन कल्याण बडगामी,सूर्यप्रसाद ढुंगाना र टीकाराम सापकोटा मैदानमा छन् ।





