आज कुशे औंशी अर्थात् पिताको मुख हेर्ने दिन । सनातन धर्माबलम्बीहरु यो दिनलाई पिताको सेवा गर्ने दिनको रुपमा लिन्छन् । नहुनेले पिताको स्मरणसहित तर्पण गर्छन् । मातापितालाई ईश्वरको अर्को रुप मानिन्छ ।
उनीहरुलाई सम्मान गर्नु सन्तानको कर्तव्य हो । त्यही कर्तव्यवोध गराउने पर्व नै कुशे औंशी हो । नेपालको कानूनले जेष्ठ नागरिकको सम्मानित जीवनको वकालत गर्छ । जेष्ठ नागरिकसम्बन्धी ऐन २०६३ले ६० वर्ष उमेर पुगेकाहरुलाई जेष्ठ नागरिकको रुपमा परिभाषित गरेको छ । सो ऐनले जेष्ठ नागरिकका अधिकारहरुबारे पनि किटान गरेको छ । नेपाल सरकारले जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ताको पनि व्यवस्था गरेको छ ।
सामाजिक सुरक्षा भत्ताको रकम ठूलो छैन तर त्यसले पनि उनीहरुको जीवनलाई सहज र सन्तुष्ट बनाउन भरथेग गरेको छ । सहरका सम्पन्नहरुलाई आवश्यक नपरे पनि दूरदराजका गाउँहरुमा जेष्ठ नागरिक भत्ता कुरेर बस्नेहरु हजारौं छन् । राज्यको तर्फबाट गरिएको यो सम्मानलाई स्वागत नै गर्नुपर्छ ।
खुसीको कुरा, नेपालीहरुको औशत आयू बढेको छ । जसले गर्दा जेष्ठ नागरिकको संख्या पनि बढेको छ । ६० वर्ष नाघेकाहरुको संख्या हरेक वर्ष उकालो लाग्दैछ भने युवाहरु जति विदेशिएका छन् । ९० नाघेका वृद्धावृद्धको संख्या उक्लिँदै गएको छ । उनीहरुको जीवन पक्कै पनि सहज छैन । बुढ्यौलीमा लाग्ने रोग, एकान्तपनबाट पछिल्लो समय उनीहरु पीडित छन् ।
तर, उनीहरुको हितबारे कमैमात्र ध्यान दिइएको छ । कसैको घरमा कसैको निधन भयो भने लास फाल्ने मान्छे पनि पाउन मुस्किल देखिएको छ । त्यतिमात्र हैन,कसैको निधन हुँदा विदेशमा रहेका आफन्त नआइ लास फाल्ने अवस्था छैन । योभन्दा दुःखलाग्दो अवस्था के हुन्छ ? जेष्ठ नागरिकहरु पीडामा मल्हम लगाउनु अहिलेको आवश्यकता हो । कानूनले प्रदत्त गरिएका अधिकार एकातिर होला तर पारिवारिक कर्तव्यको पनि ख्याल गर्नुपर्छ ।
‘यो छोरा बढला,कमाइ गरला, दूधभात खान देला’भन्ने उक्तिलाई आधार मान्ने हो भने छोराछोरीहरु त्यो कर्तव्यबाट च्यूत हुँदै गएका छन् । बूढाहरुको जीवन एकांकी र निरस बनेको छ । जसले गर्दा उनीहरु मानसिक तनावमा जाने अवस्थामा छन् । यतातर्फ अरुले हैन परिवारका सदस्यले ध्यान दिनुपर्छ । आफूलाई जन्माउने, हुर्काउने अनि बढाउनेलाई अवहेलना गर्न पाइँदैन । स्वर्ग र नर्क मान्छेको विश्वासमा अडेको हुन्छ । तर, जन्मदिने मातापितालाई पृथ्वीमै नर्कतूल्य जीवन बाँच्न अभिषप्त पारिनु हुँदैन ।
