बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

नारी स्वतन्त्रता र तीज

नारी स्वतन्त्रता र तीज


  • Dhorpatan News
  • असोज १ २०८०, सोमबार

वैदिककालमा नारी स्वतन्त्र थिए भन्ने प्रमाणहरु भेटिए पनि बिस्तारै उनीहरुमाथि सिकन्जाहरु कस्न थालियो । पितृसत्तात्मक सोचले नारीलाई घरको चौघेरामा कैदमात्र गराएन, दासीतुल्य व्यवहार गरिन थालियो । आदिकवि भानुभक्त आचार्यकृत ‘बधु शिक्षा’बाटै तत्कालीन समाज कस्तो थियो भन्ने छनक दिन्छ ।सम्झँदा कहाली लाग्छ–अघिल्लो शताब्दी अर्थात् १९९७ सालसम्म नेपालमा सती प्रथा प्रचलनमा थियो ।

तत्कालीन श्री ३ महाराज चन्द्र शमशेरले लोग्नेको मृत्युपछि श्रीमतीलाई क्रुरतापूर्ण तरिकाले चितामा जल्ल बाध्य बनाइने सो कुप्रथालाई १९९७ को असार २५ गते हटाएका थिए । महिला अधिकारकर्मीले त्यो दिनलाई मुक्ति दिवसको रुपमा मनाउँदा पनि हुन्छ । सती प्रथा हटे पनि नेपाली समाजको पछौटेपनले नारीलाई खुला हुन दिएन । पतिको मृत्यु भएमा त्यसको दोष महिलालाई दिने प्रवृत्ति बिस्तारै हराउँदै गए पनि तत्काल नामेट हुन सकेन । त्यसो त, युरोपमा पनि अठारौं शताब्दीसम्म नारीहरु अधिकार सम्पन्न थिएनन् ।

अमेरिकाजस्तो देशमा कस्तो कपडा लगाउने भन्ने स्वतन्त्रतामाथि नै दण्डा चलाइन्थ्यो भने मताधिकार र अन्य अधिकारबाट पनि उनीहरु बञ्चित नै थिए । अधिकार प्राप्तिको लागि युरोप र अमेरिकी महिलाले आन्दोलन छेडे । अधिकार लिएर छाडे । तर, महिलाहरुले विद्रोह नै गरेनन्,अधिकार नै खोजेनन् भन्ने भाष्य भने नेपालको सन्दर्भमा पनि गलत छ । किनकि, १९१७ सालमा भोजपुरको दिक्तेलमा जन्मेकी योगमाया न्यौपानेसहितका विद्रोही महिलाले अधिकारको माग गर्दै १९९८ साल कार्तिक १४ गते हरिशयनी एकादशीको दिन अरुण नदीमा हेलिएर विद्रोहको ज्वाला बालेकै थिए । तर, चेतनाको अभावमा त्यो विद्रोहको बाटोमा हिँड्ने अर्को जमात तयार भएन । २००७,२०४६ र २०६२÷०६३ को आन्दोलनले महिलाहरुलाई राजनीति अधिकार त प्रदान ग¥यो तर सांस्कृतिक स्वतन्त्रता भने अझै दिलाएन ।

पछिल्ला वर्षहरुमा नारी स्वतन्त्रता एवं समानताका लागि छेडिएका ‘मिटु’ र ‘टाइम्सअप’ ले धेरै महिलालाई धक फुकाएर बोल्ने बनायो । ती अभियानकै कारण कयौं ‘मैं हूँ’ भन्ने पुरुषहरु कानूनी र नैतिक रुपले दण्डित हुन पुगेका छन् । नेपालको हकमा पनि महिलाहरु अग्रगामी र स्वतन्त्र अनि आत्मनिर्भर बनेका छन् । तर,केहीले भने, यो स्वतन्त्रतालाई स्वच्छन्दताको रुपमा व्याख्या गर्दै नारीहरुको अपमान पनि गरिरहेका छन् । तीजकै सन्दर्भमा अहिले भइरहेको आलोचनाको पनि त्यहीँ उभिएको छ ।

हो, तीज भड्किलो भएको छ । एक महिनाअघि देखि दरखाने कार्यक्रम चलेका छन् । हिजोका विरहका गीतहरु विस्थापित गर्दै आधुनिक गीतले ठाउँ लिएका छन् । तर, तीजकै छेकोमा सही महिलाहरुले खुलेर आफ्ना कुरा र खुला आकासमा सास फेर्ने अवसर प्राप्त गरेका छन् । तीजको धार्मिक र सांस्कृतिक महत्वलाई व्यक्तिको व्यक्तिका सोचका आधारमा व्याख्या गर्न सकिएला । तर, यो पर्वको छेकोमा महिलाले पाउने स्वतन्त्रताले ठूलो अर्थ राख्छ । महिलाहरुले यो पर्वलाई स्वतन्त्रताकै पर्वको रुपमा मनाउनुपर्छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->