बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

एडीबीसँगको सहकार्य र पोखराको दायित्व

एडीबीसँगको सहकार्य र पोखराको दायित्व


  • Dhorpatan News
  • असोज २ २०८०, मंगलबार

एसियाली विकास बैंक (एडीबी) बाट पोखराको पूर्वाधार विकासका निम्ति झण्डै ८ अर्ब रुपैयाँ लगानी भएको छ ।
पोखराको दीगो पर्यटन विकासको लागि गरिएको लगानीबाट यहाँको ढल निकास, तालबाट ताल जोड्ने साइकल मार्ग, सडकहरुको स्तरोन्नति, सम्पदा र प्रकति संरक्षणसम्मका योजनाहरु रहेका छन् । बोटालिकल गार्डेन, पञ्चासेको जैविक विविधता संरक्षणजस्ता दूरगामी महत्वका योजनाहरुले पोखराको स्वरुप फेर्ने आशा जगाएको छ । एडीबीजस्तो ठूलो दातालेसहकार्य गर्नु र आफ्नो वार्षिक बजेटभन्दा ठूलो राशी यहाँको पूर्वाधार निर्माणमा खर्चनुलाई सामान्य मान्नु हुँदैन । दीर्घकालीन महत्वका परियोजनामा विदेशी दातालाई मनाउँदै÷संघीय सरकारको सहमति लिँदै अगाडि बढ्न सहज थिएन । महानगरको वर्तमान नेतृत्व यो सफलताको हकदार छ । महानगरको वर्तमान नेतृत्व जसले जे सहायता दिए पनि हात थाप्ने अनि प्रतिवद्धता पूरा नगर्ने पुरानो रोगबाट ग्रसित भएन भने यी परियोजनाहरु समुन्नत र सुन्दर पोखरा निर्माणमा कोषेढुंगा सावित हुने निर्विवाद छ ।

पोखरा गण्डकीको सदरमुकाम मात्रै हैन, प्रस्तावित अन्तर्राष्ट्रिय सहर पनि हो ।गाडीभन्दा पहिले जहाज आएको पोखरालाई मोक्षको खोजीमा निस्केका हिप्पीहरुले हिजो नै अन्तर्राष्टिय सहरको मान्यता दिइसकेका थिए । तर,६० को दशकमा सुरु भएको त्यो अभियानलाई पोखरा स्वयंले भने निरन्तरता दिन सकेन । अन्तर्राष्ट्रिय मान्छे आउने सहरले न आफ्नो मौलिकता जोगाउन सक्यो न अन्तर्राष्ट्रिय सहर बन्ने बाटो समायो । औलो उन्मूलनसँगै पोखराको समथर भागमा बस्ती विकास हुन थाल्यो । वरपरका गाउँ र जिल्लाबाट अवसरको खोजीमा यो सहरमा मान्छेहरु ओइरिए । सहर घना हुँदै गयो ।

पूर्वाधारको विकास पनि भयो तर ती पूर्वाधारहरु आधुनिक सहर सुहाउँदा बनेनन् । भएका प्राकृतिक सम्पदाहरुको दोहन बढ्यो । सार्वजनिक जग्गा,चौर सबै हडप्न थालियो । हचुवाको भरमा पूर्वाधारहरु निर्माण गरिए । दीर्घकालीन सोच राखिएन । सहरी विकासको लागि २०३१ सालतिर तत्कालीन अञ्चलाधीश शंकरराज पाठकको अगुवाइमा बनेको गुरुयोजना च्यातचुत पारियो भने त्यसपछि बनेका योजनाहरु पनि दराजमै थन्क्याइयो । समग्रमा पोखरालाई अन्तर्राष्ट्रिय,समन्नुत र पहिचानसहितको सहर बनाउने काममा कसैको ध्यान गएन । जसले गर्दा पोखराले आफ्नो मौलिकता गुमायो, स्थानीयहरुको आवश्यकता संवोधन हुन सकेन ।

अहिले पोखरा अस्तव्यस्त बनेको छ । पोखराका सहरहरु साँघुरा मात्रै भएका छैनन्, असुरक्षित पनि छन् । वर्षेनी यति किलोमिटर बाटो बन्यो भन्दै प्रगति विवरण सुनाउने महानगरले भएका बाटाहरुको व्यवस्थापन गर्न सकेको छैन । सार्वजनिक सम्पत्ति र ताल संरक्षण नयाँ भौतिक संरचना निर्माणमा महानगर चुक्दै आएको छ । पोखरालाई सुन्दर बनाउन २१०० सालसम्मको योजना बनेका छन् तर ती योजना कार्यान्वयनमा कहिले आउने अनि त्यसमा स्थानीयको सहभागिता कसरी गराउने भन्नेतर्फ महानगरले सोचेको छैन । ढिला भइसकेको छ । पोखरालाई अन्तर्राष्ट्रिय र समुन्नत सहरकै रुपमा प्रतिस्थापन गर्न बनेका योजना कार्यान्वयन एवं भूगोल सुहाउँदो विकासमा ध्यान दिनुपर्ने भएको छ । एडीबीको सहयोगमा बन्न लागेका पूर्वाधारहरुले आशा जगाएका छन् तर त्यतिमा मात्र चित्त बुझाएर बस्ने ठाउँ छैन । सुरु भएका परियोजना समयमै सम्पन्न गर्दै चक्रपथसहित आवश्यक पूर्वाधार विकासमा महानगरले अर्जुनदृष्टि लगाउनुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->