गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेटमा ‘धर्मगुरु’हरुलाई यहाँका धार्मिक क्षेत्रहरुको भ्रमण गराउने योजना घोषणा गरेको छ । सरकारले घोषणा गरेको सो कार्यक्रममार्फत् को र कस्ता धार्मिक गुरुलाई गण्डकी प्रदेशमा निम्तो दिने भन्ने खुलेको छैन तर अधिकारीहरुका अनुसार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथदेखि हिन्दु धर्मका अन्य प्रसिद्ध महन्थ र गुरुहरुलाई निम्तो दिने योजना बुनिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको दर्शन गरेसँगै मुक्तिनाथले भारतमा थप चर्चा पायो । भारतीय पर्यटकहरुको घुइँचो लाग्यो । स्वामी नारायणले तप गरेको मुक्तिनाथलाई उनका अनुयायीहरुले जीवनमा एकपटक पुग्नैपर्ने ठाउँको रुपमा लिन्छन् । गुजरातलगायतका क्षेत्रमा स्वामी नारायणका अनुयायीहरुको बाक्लो बस्ती छ । त्यहाँ पुगेर मुक्तिनाथको प्रचार गर्न सके अवश्य पनि धार्मिक पर्यटनमा टेवा पुग्छ । त्रिवेणीधामदेखि गोरखनाथ, पोखराको विन्ध्यवासिनीदेखि बागलुङ कालिका,पञ्चकोट,गलेश्वर धामदेखि मुक्तिनाथ–दामोदर कुण्डजस्ता प्रसिद्ध धार्मिक स्थलहरु धार्मिक पर्यटनका दृष्टिले अन्त्यन्त महत्वपूर्ण छन् । मुस्ताङ,डोल्पा हुँदै मानसरोवरको यात्रा गराउन सकियो भने यसले पर्यटन उद्योगमा अन्त्यन्तै ठ्रूलो योगदान गर्छ ।
केही वर्षयता धार्मिक स्थलहरुको विकास र व्यवस्थापनमा सुधारमात्र भएको छैन, नयाँ संरचना पनि बनेका छन् । पोखराको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले मन्दिरका संकलन हुने भेटी व्यवस्थापन गर्दै प्राकृतिक चिकित्सालय संचालनमा ल्याएको छ ।बागलुङको कालिका मन्दिर व्यवस्थापन समितिको काम पनि उत्तिकै लोभलाग्दो छ । यस्ता समितिहरुको क्रियाशिलताले मन्दिरको आयको सदुपयोगसँगै भौतिक संरचनाहरु थपिएका छन् । यी थपिएका संरचनाहरुले धार्मिक पर्यटक आकर्षित गराउन सक्नुपर्छ । मुख्य पर्यटकीय सिजनमा पनि अहिले पोखरासहित गण्डकीका पर्यटकीय गन्तव्यहरु सुनसानजस्तै देखिएका छन् । धार्मिक पर्यटन प्रवद्र्धनले पर्यटकको आवागमन बढाउन सघाउने छ । प्रसिद्ध तीर्थस्थलहरुको प्रचारसँगै ती गन्तव्यसम्म पुग्ने सडक मार्गको स्तरोन्नतिलाई पनि उत्तिकै ध्यान दिनुपर्ने भएको छ ।
