पछिल्लो समय चिकित्सकमाथि भौतिक आक्रमणका घटनामा बढोत्तरी भएका छन् । सामान्य निहूँमा डाक्टरमाथि आक्रमण र दुव्र्यवहार गर्ने घटनाका कारण डाक्टरहरु त्रसितमात्र भएका छैनन्, मनोवलसमेत गिरेको छ । देशमा पछिल्लो समय मौलाउँदै गएको दण्डहीनता र अराजकताको शिकार डाक्टरहरु बनेका छन् । सवैभन्दा सम्मानित पेशाकर्मीमाथिको दुव्र्यवहार बढ्दा दक्ष जनशक्तिको विदेश पलायन दर ह्वात्तै बढेको छ । दक्ष जनशक्ति देशबाटै विरक्तिएर, अपहेलित भएर विदेशिनु भनेको दीर्घकालीन घाटामात्र हैन, अन्तर्राष्ट्रिय जगतमा देशको नुर गिर्नु पनि हो ।
देशबाट दक्ष जनशक्ति बाहिरिनुको पीडा कति हुन्छ भन्ने आँकलन अहिलेसम्म गरिएको छैन । तर, तथ्याङ्कहरु भन्छन्– केही वर्षपछि देशमा मुटुलगायत विशेष उपचारका निम्ति डाक्टर नरहने अवस्था सिर्जना भइसकेको छ । देशमा विरक्ति बढेको छ । विरक्तिसँगै असुरक्षा बढेपछि को पो देश भनेर बस्छ र ? डाक्टरमाथिको आक्रमण, भ्रष्टाचारको आदेश दिने राजनीतिक नेतृत्वलाई उन्मुक्ति तर कर्मचारीलाई खोरमा कोच्ने,शिक्षकलाई सम्मान नगर्नेजस्ता परिदृष्यले कहालीलाग्दो भविष्यको संकेत गरिरहेको छ । यी समस्याको समयमै निराकरण गर्न सकिएन भने देशको हालत झन बिग्रने निश्चित छ ।
डाक्टरले जानाजान गलत गर्दैन । हिप्पोक्रेटिक ओथ लिने क्रममा नै गलत नगर्ने प्रण गरेका हुन्छन् । उनीबाट सामान्यतयाः त्रुष्टि हुँदैन । तर, उनीहरु पनि मान्छे नै हुन् । मानवीय त्रुटि नहोला भन्न सकिँदैन । दक्षता र आफ्नो मानशिक स्वास्थ्यमा ख्याल दिँदै बिरामीलाई सञ्चो बनाउने प्रण गर्नु नै डाक्टरको कर्तव्य हो । यो कर्तव्यबाट डाक्टर च्यूत हुनुहुँदैन । अध्ययन र अनुसन्धानलाई केन्द्रमा राख्दै पैसाभन्दा सेवालाई मूलमन्त्र बनाउनैपर्छ । स्वास्थ्यकर्मीहरु कस्तो हुने भन्ने मापदण्ड कायम गरिएको छ ।
त्यो मापदण्डको पालना नगर्ने छुट कसैसँग छैन । कानूनभन्दा मािथ कोही हुँदैन । अझ, डाक्टरजस्तो सम्मानित पेशामा त कानूनभन्दा पनि माथि नैतिकता हुन्छ । कर्तव्यवोधले थिचिनु र विनयशील बन्नु नै चिकित्सकीय पेशा हो भन्ने ज्ञान डाक्टरलाई नहुने कुरै भएन । हो,गलत गर्ने डाक्टरहरुमाथि कारवाही हुनुपर्छ । त्यसको उजुरी गर्ने व्यवस्था पनि रहेकै छ । नियनकारी निकाय सक्षम हुँदा डाक्टरबाट हुने त्रुटिमा आफैं कमी आउँछ । मुख्य कुरा, उनीहरुमाथि अनावश्यक लाञ्छना लगाउनु,भौतिक आक्रमण गर्नुजस्ता प्रवृत्तिमाथि कानूनी अंकुश लगाउनैपर्छ । विद्यमान कानूनको पूर्ण कार्यान्वयनसँगै आवश्यक परे नयाँ नियमहरु बनाएर यो पेशामा हुनेको सुरक्षाको प्रत्याभूति गराउन ढिला गरिनुहुँदैन ।
