शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

सुरक्षा माग्दै डाक्टर र न्यायको मागसहित मृतकका आफन्त सडकमा

सुरक्षा माग्दै डाक्टर र न्यायको मागसहित मृतकका आफन्त सडकमा


  • ढोरपाटन संवाददाता
  • असोज ११ २०८०, बिहिबार

पोखरा/पोखराको फूलबारीमा रहेको मणिपाल अस्पतालमा सोमबार लमजुङ सुन्दरबजार नगरपालिका ६ घर भएकी ५७ वर्षीया सुकमाया दुराको उपचारको क्रममा मृत्यु भएपछि आफन्तले डाक्टरहरुबाट लापर्वाहीको आरोप लगाए ।

मृतकका आफन्तहरु आन्दोलित हुँदा स्वास्थ्यकर्मीहरुसँग झडप भयो । अस्पतालका सिसाहरु फुटे । सोही उपक्रममा डाक्टरमाथि हातपात गरियो । डाक्टर दीनेशकुमार बिक सामान्य घाइते भए । प्रहरीले हातपातमा संलग्न भएको आरोपमा मृतकका आफन्त पोखरा ५ मालेपाटन बस्ने ३४ वर्षीय विनय गुरुङसहित डाक्टर दीनेशकुमार बिकलाई पनि नियन्त्रणमा लियो । प्रहरीले डाक्टर बिकलाई आफन्तको जिम्मा लगाएको छ भने हातपातमा संलग्न स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ अन्तर्गत हातपात, तालाबन्दी तथा तोडफोड जस्ता कार्य गर्न नहुने कसुरमा दिन सात (७) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको छ ।

सोही घटनालाई लिएर स्वास्थ्यकर्मीहरु आन्दोलित बने । उनीहरु आकस्मिकबाहेकका सवै सेवा बन्द गरेर सडकमा आएका छन् भने मृतकका आफन्तहरुले पनि घटनाको सत्यतथ्य बाहिर ल्याउनुपर्ने भन्दै आन्दोलन गरिरहेका छन् । दुवै पक्षबीच मंगलबार दिनभर भएको सहमतिको प्रयास विफल भएको कास्की प्रहरीका प्रवक्ता डीएसपी श्रवणकुमार बिकले बताएका छन् ।

विवादको निरुपण नहुँदा बुधबार स्वास्थ्यकर्मी र मृतकका आफन्त दुवै सडकमा आएका हुन् । सडकमा निस्केका डाक्टरहरुले पोखराको सभागृह, सृजनाचोक, राष्ट्रबैंक चोक हुँदै जिल्ला प्रशासन कार्यालय कास्की पुगेर सुरक्षाको माग गरेका छन् । नेपाल चिकित्सक संघ गण्डकीका कार्यबाहक अध्यक्ष डा सुनिल पनेरु र सचिव सुशील तिमिल्सिनाको हस्ताक्षर रहेको ज्ञापनपत्रमा भयरहित अवस्थामा उपचार गराउने वातावरण निर्माण गरिनुपर्ने माग राखिएको छ ।

ज्ञापनपत्रमा भनिएको छ, ‘प्रस्तुत विषयमा नेपालका चिकित्सक एवं स्वास्थ्यकर्मीहरुले आफ्नो ज्ञान सिप र क्षमताको प्रयोग गर्दै विरामीको सेवामा सदा तत्वर रहेको यहाँलाई अवगतनै छ । तथापी विगत केही समयदेखि चिकित्सक एवं स्वास्थ्यकर्मी तथा अस्पतालमा भईरहेको अस्वभाविक र अमानवीय क्रियाकलापले स्वास्थ्यकर्मीहरुको मनोवल गिरेको अवगत गराउन चाहन्छौं । त्यसैले भयरहित अवस्थामा विरामीको उपचारमा तत्वर रहनको निम्ती स्वच्छ वातावरण निर्माण गर्नको लागि नेपाल सरकार समक्ष जोडदार माग गर्दछौ ।’ साथै उनीहरुले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ (पहिलो संसोधन २०७९) लाई यथासिघ्र हुबहु पालना गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाको प्रत्याभूति गराउनका लागि समेत माग गर्दै सोही ऐन अनुसार स्वास्थ्य संस्थाहरूमा घटेका घटनाहरुमा संलग्न दोषीहरुलाई कार्वाही गर्न माग राखेका छन् ।

आन्दोलनमा सहभागि भएका मणिपाल शिक्षण अस्पतालका डाक्टर मत्सेन्द्र झाले मणिपालको घटनाको बारेमा विरामीका आफन्तलाई पटक–पटक बुझाएको बताए । उनले अवस्था असामान्य भएकाले जे पनि हुन सक्ने भन्दै बुझाएको तर आफन्तले विना कारण कुटपीट गरेको जिकिर गरे ।उनले उक्त कार्यमा प्रहरीकै संलग्नता भएको जिकिर गरे । प्रहरीले भीडलाई साम्य नबनाउँदा डाक्टर उत्तेजित भएको उनले सुनाए ।
डाक्टरमाथि हातपात गर्नेलाई कारवाही गर्नुपर्ने उनीहरुको माग छ । ¥यालीमा निस्केका डाक्टरहरुले ‘स्वास्थ्यकर्मी सबै विदेश जाऊँ, देश धामी झाक्रीलाई छोडौं’, स्वास्थ्य संकटकाल घोषणा गर, सेतो कोटमा रातो दाग, सुरक्षित चिकित्सा हाम्रो माग, काँपेको हातले उपचार गर्न सक्दैन, लाचार भै बस्दैनौ अब भन्नेजस्ता प्लेकार्ड बोकेका थिए । डाक्टरहरुको आन्दोलनको कारण बुधबार पनि पोखरामा अस्पतालहरुमा आकस्मिकबाहेकको सेवा बन्द छ ।

उता, मृतकका आफन्तहरुले पनि घटनाको सत्यतथ्य बाहिर ल्याउनुपर्ने माग गर्दै पोखराको महेन्द्रपुलमा कोणसभा आयोजना गरे । कोणसभामा दुरा समाजका अगुवा,मृतककी छोरी तिला दुरासहित उनका शुभेच्छुकहरु उपस्थित थिए । धर्नामा उपस्थित भएकी मृतककी छोरी तिलाले डाक्टरहरुले आमाको मृत्युको कारण बताउन नखोजेको र कारण सोध्दा आफूसहित दिदीकी ९ महिने शिशुलाई पनि ८ घण्टासम्म बन्धक बनाइएको आरोप लगाइन् ।

‘सामान्य बिरामी भएपछि आमालाई हामीले मणिपाल ल्याएका हौं, पछि मृत्यु भयो भनियो, कारण सोध्दा डाक्टरहरु हुल बाँधेर आए, कसैको हातमा सलाइनको डण्डी,कसैको हातमा चक्कु थियो, उनीहरुले हामीमाथि अभद्र व्यहार गरे,’उनले रुँदै भनिन्,‘हामी भिक्टिम हौं,उल्टै हामीमाथि आरोप लगाइको छ । हामीले पनि यति धेरै पैसा तिरेका छौं, कुन औषधि चलाइयो, कसले हेरेको थियो र मृत्युको कारण के थियो भन्ने जान्न पाउने हाम्रो अधिकार हो ।’

दुरा समाज कास्कीका सचिव नवराज दुराले अस्तालले मानवीय व्यवहार प्रदर्शन नगरेको र उल्टै पीडितलाई धम्क्याएको आरोप लगाए ।
कोणसभामा बोल्दै मृतकका शुभेच्छुक पशुपति भट्टराईले स्थानीय प्रशासनले अस्पतालले गरेको लापर्वाही लुकाउन खोजेको र पीडितलाई झन पीडा दिएको आरोप लगाए । उनले न्याय नपाए अन्तिममा मणिपाल केन्द्रीत आन्दोलन गरिने चेतावनी पनि दिए । सो उपक्रममा उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठको आलोचना पनि गरे । मृतका आफन्तहरुले केही बेर पोखराको यातायात नै अवरुद्ध बनाए । मृतकका आफन्तले राजमार्गसहितका चोकमा कोणसभा गर्दा यहाँको यातायात पनि अस्तव्यस्त हुनपुग्यो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->