संविधानले नेपाललाई बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्रको रुपमा परिभाषित गरेको छ । संविधानले धर्मनिरपेक्षको व्याख्या गर्दै सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्ने उल्लेख पनि गरिएको छ ।
नेपाल बहुधार्मिक,सांस्कृतिक र बहुभाषिक राज्य भएकोका विवाद छैन । बरु, यो नेपालको पहिचान हो । अनेकतामा एकताको सूत्रले बाँधिएको नेपालमा पछिल्ला केही समयमा भने धार्मिक र सांस्कृतिक अतिवादले प्रश्रय पाउन थालेको छ । धार्मिक अन्धता र अतिवाद मौलाउँदा नेपालगञ्ज अशान्त बनेको छ । सामाजिक सञ्जालमा लेखिएको विषयबाट सुरु भएको विवाद सडकमा आउँदा हिन्दु र मुस्लिम समुदायबीच झडप भएको छ । स्थानीय प्रशासनले कफ्र्यू लगाउँदा पनि विवाद साम्य नभएपछि सेना परिचालन गरिएको छ । जातीय र धार्मिक विवादको यो झिल्कोलाई साम्य पार्न नसकिए दुर्घटना निम्तनसक्ने सम्भावना बढेर गएको छ । नेपालगञ्जमात्र हैन, पूर्वको धरान पनि केही समय पहिला अशान्त बन्यो ।
राष्ट्रिय जनावर तथा हिन्दुहरुले पूजा गर्ने गाई काटेर भोज लगाइएका तस्वीरहरु सामाजिक सञ्जालमार्फत् सार्वजनिक भएपछि त्यहाँ दुई समूहबीच मनोमालिन्य बढ्दै गयो । हिन्दुवादीहरुले धरानमै पुगेर प्रदर्शन गर्ने तयारी थाले । स्थानीय प्रशासनले गरेको बुद्धिमत्तापूर्ण निर्णयले अप्रिय स्थिति भने सिर्जना हुन पाएन । सो घटनाको तुष अझै बाँकी रहेको छ । त्यही घटनासँग जोडिएर उत्तेजक अभिव्यक्ति दिने एकजना धर्मगुरु पक्राउ परेका छन् भने सामाजिक सञ्जालमार्फत् गाई काटेर खाएका सूचनाहरु सम्प्रेषण हुन पनि छाडेको छैन ।
समग्रमा नेपालको सामाजिक सद्भाव बिथोलिँदे गएको छ । धर्म र जातको नाममा सुरु हुने द्वन्द्व डरलाग्दो हुन्छ । विश्वका कयौं देशहरुमा यो द्वन्द्वका कारण हजारौंले ज्यान गुमाएका छन् । देश बस्नै नसक्ने गरी बिग्रिएको छ । नेपालमा अहिले देखिएका यस्ता अराजक कृत्यहरुको बेलैमा निदान खोजिएन भने त्यसले निम्त्याउने परिस्थिति डरलाग्दो हुन्छ । धार्मिक र सामाजिक सद्भाव कायम गर्न समुदायले अतिवादी सोच त्याग्नुपर्छ । आफ्नो धर्मको रक्षा गर्ने र अर्काको धर्म अनि संस्कृतिलाई पनि सम्मान गर्नु नै द्वन्द्व बढ्न नदिने गतिलो उपाय हो । मिलेर बसेको नेपाली समाजलाई फुटाउन खोज्ने अतिवादीहरुलाई घृणा र कारवाही गर्नेतर्फ राज्यले ध्यान दिनु त छँदैछ । राजनीतिक दल, नागरिक समाज र बुद्धिजीविहरुले पनि सामाजिक सद्भाव बिथोलिन नदिन अभियान संचालन गर्नुपर्छ ।
