पोखरा/ आलोचनात्मक चेतसहित आफ्नो कुरा प्रष्ट राख्ने नेता मानिन्छन्–एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ । कतिसम्म भने एमालेका सर्वशक्तिमान अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्न पनि उनी पछि पर्दैनन् ।
‘उहाँ (पृथ्वीसुब्बा) केन्द्रीय कमिटीमै अध्यक्ष कमरेड तपाईं हाम्रो नेता हो तर भगवान हैन, तपाईंबाट पनि कमजोरी भएको छ’ भन्ने हैसियत राख्ने नेता हो,‘एमालेका एक केन्द्रीय सदस्यले भने,‘नत्र बाँकी नेताहरुले अध्यक्षको अगाडि चुइँक्क बोल्ने हिम्मत गर्दैनन् । केन्द्रीय समिति बैठकमा पनि त्यही हुन्छ ।’
अध्यक्षको सार्वजनिक आलोचना गरे पनि संकटको बेलामा भने पृथ्वीसुब्बाले ओलीलाई नै सघाउँदै आएका छन् । जनकपुरमा सम्पन्न सातौं महाधिवेशनदेखि ओलीसँगै रहेका पृथ्वीसुब्बा सुवास नेम्वाङको निधनपछि एमालेभित्र जनजातिको प्रतिनिधित्व गर्ने एकमात्र उच्च तहका नेतासमेत हुन् । गण्डकीका संस्थापक मुख्यमन्त्री भइसकेका गुरुङले अघिल्लो वर्ष सम्पन्न १० औं महाधिवेशनको उपक्रममा महासचिवमै दाबी पेश गरेका थिए । तर, अध्यक्ष ओलीको खल्तीबाट निस्केको लिस्टमा उनलाई उपमहासचिव थमाइयो । ओलीको खल्तीमा भएको लिष्ट बनाउन भने हालका महासचिव शंकर पाखरेलसहितका नेताहरुले काम गरेका थिए ।
महासचिव शंकरसँग उपमहासचिव गुरुङको मन मिल्दैन । बरु, गुरुङ उपाध्यक्ष विष्णु पौडेलसँग नजिक छन् । ओलीलाई चुनौती दिने हैसियत नभए पनि महासचिव शंकर र उपाध्यक्ष विष्णुको आ–आफ्नै गुट छ । बेलाबेला दुई गुटबीचको प्रतिस्पर्धा सतहमै आउँछ । हाल भइरहेका प्रदेश अधिवेशनको क्रममा पनि गुटको लडाइँ देखियो । गृह प्रदेश लुम्बिनी र कर्णालीमा उनी इतर नेता अध्यक्षमा चुनिएका छन् । बागमतीमा बढो मुस्किलले आफूपक्षीय अध्यक्ष पाएका शंकरको ध्यान यतिबेला गण्डकीमा देखिएको छ । उनी गण्डकी प्रदेशमा आफू अनुकूलको नेतृत्वमात्र चाहँदैनन्,यही चुनावमार्फत् उपमहासचिव पृथ्वीसुब्बाको तेजोबध गर्न चाहन्छन् ।
त्यसको लागि उनी केही दिनदेखि पोखरामै बसेर रणनीति बनाइरहेका छन् । उनको सो अभियानको नेतृत्व भने गण्डकीका स्थायी समिति सदस्य खगराज अधिकारीले गरिरहेका छन् । पृथ्वीसुब्बा र खगराजको गण्डकीमा आ–आफ्नै गुट छ । खासमा केही वर्षअघिसम्म खगराजको प्रभाव कास्कीमा मात्रै सीमित थियो । कास्कीका थुप्रै नेताहरु खगराजकै कोपभाजनका कारण अवसरबाट बञ्चित भएको गुनासो गर्थे । जब पृथ्वीसुब्बा मुख्यमन्त्री बनेर पोखरा बस्न थाले,त्यो असन्तुष्ट समूहले पृथ्वीसुब्बालाई नेता मान्न थाल्यो । पृथ्वीसुब्बाले कास्कीको राजनीतिमा हात हाले । खगराजले रुचाएकालाई हराएर आफू निकट मनबहादुर गुरुङलाई कास्की अध्यक्ष बनाउनेदेखि पोखरा नगर समितिसम्म भूमिका बढाए । त्यसले खगराजलाई झन रुष्ट बनायो । शक्ति आर्जनमा लागेका उनले केन्द्रमा महासचिव शंकर खेमा रोजे र शंकरमार्फत् नै गण्डकीमा शक्तिशाली बन्ने अभियान चलाए । जारी गण्डकी प्रदेश अधिवेशनलाई खगराजले शक्ति आर्जनको महत्वपूर्ण अवसरको रुपमा लिएका छन् । उनले पृथ्वीसुब्बालाई कमजोर बनाउन उनकै जिल्लाका नेता मायानाथ अधिकारीलाई अध्यक्षमा अगाडि सारेका छन् । भने यसअघि पृथ्वीसुब्बा क्याम्पमा रहेका युवा नेता रश्मि आचार्य,केन्द्री सदस्य राजीव पहारी,गोविन्दबहादुर नेपालीसहितका नेतालाई पनि आफू निकट बनाएका छन् । रश्मिलाई उनले गण्डकी सचिवको रुपमा अगाडि सारेसँगै उनले केन्द्रीय सचिव पद्मा अर्याल तथा अर्का वरिष्ठ नेता किरण गुरुङको पनि साथ खोजिरहेका छन् । यो तारतम्य मिलाउन महासचिव शंकर नै सक्रिय रहेको पनि स्रोतले बतायो ।
‘सवै कुरा शंकर कमरेडकै योजनामा अगाडि बढेको छ । यो पटक आफूपक्षीय नेतालाई गण्डकीको नेतृत्वमा ल्याउने गरी तयारी पनि गरिएको छ । हामीसँग अहिले ६० प्रतिशत प्रतिनिधि छन् । सचिव कमरेड र किरण कमरेडले ग्रीन सिग्नल दिँदा त्यो ८० प्रतिशतमा पुग्छ,’खगराज निकट एक नेताले जिकिर गरे । अध्यक्षमा उम्मेदवारी दिँदै गरेका मायानाथ स्वयं पनि आफूलाई ६० प्रतिशत प्रतिनिधिको समर्थन रहेको बताउँछन् । गण्डकीको प्रथम अधिवेशनको लागि ११ जिल्लाबाट ९०७ जना प्रतिनिधि चुनिएका छन् । महासचिव शंकरले जिल्ला अध्यक्षसहित अन्य नेताहरुलाई पनि आफ्नो प्रभावमा पार्ने प्रयास गरिरहेको पनि ती नेताले बताए ।
उता, पृथ्वीसुब्बा पक्ष भने त्यो कुरा मान्न तयार छैन । पृथ्वीसुब्बापक्षीय नेतालाई हराउनु भनेको पार्टीलाई भजनमण्डलीमा परिणत गर्नु हो भन्ने सन्देशसहित सो पक्षले अभियान अगाडि बढाएको छ । हिजो पार्टी एकीकरण हुँदा माओवादीबाट आएका र एमालेमै थामिएका, आलोचनात्मक चेत भएका तथा युवाहरु पृथ्वीसुब्बासँगै रहेको उनी निकट नेताहरुको दाबी छ ।
‘नेतृत्वको कमजोरीको ढाकछोप गर्ने, अवसरवादीहरुले पार्टीलाई उँभो लगाउँदैनन्,पृथ्वीसुब्बाको मानमर्दन गरियो भने एमाले झन दासहरुको पार्टी बन्छ,त्यसैले पार्टीलाई माया गर्ने ठूलो पंक्ति हामीसँग छ,’ती नेताले भने,‘ मिसन ८४ भन्ने तर भजनमण्डलीहरुको पोल्टामा नेतृत्व सुम्पने हो भने स्थिति के आउला ? कार्यकर्ता चिन्तित छन् । जीत हाम्रो नै हुने हो । यो पटक महासचिव कमरेडलाई पनि हाम्रो शक्ति देखाइदिने हो ।’ आफ्नो गृह प्रदेशमा पाएको असफलतापछि महासचिव स्वयंले यस्तो गुटबन्दी गर्न नहुनेमा पनि जोड दिए । प्रतिस्पर्धा निश्चित भएको छ । नेताहरु होटलको कोठमा बसेर जोड घटाउमै व्यस्त छन् । सत्य के हो भने, अहिले पृथ्वीसुब्बालाई हिजोका मतियारले छाडेका छन् । खगराज समूहमा नेताहरु थपिएका छन् । जसले गर्दा नतिजाको लागि चुनाव नै पर्खनुपर्ने भएको छ ।





