बागलुङ कालिका मन्दिर नजिकैको रामरेखा सामुदायीक वन क्षेत्रमा निर्माणाधिन अबस्थामा रहेको ‘जनजाती संग्राहलय’को भवन अलपत्र अवस्थामा छ । मगर संघले निर्माण थालेको भवन मगर जातीको संग्राहलय बनाउने, जनजातीको संग्रहालय बनाउने वा बागलुङ संग्राहालय बनाउने भन्ने बिबादको शिकार बन्यो । निर्माणको सुरुवात र चर्चा भएको तर पूर्णता नपाएको यो भवन बागलुङ जिल्लाको पहिलो भने होईन् । जिल्लाकै काठेखोला गाउँपालिका–४ तंग्राममा बिभिन्न नाम दिएका दुई संग्रहालयका भवन निर्माणाधिन अवस्थामा छन् । अघिल्लो आर्थिक बर्षसम्म निर्माणकै चरणमा रहेका भवनहरु पूर्ण नहुँदै ती भवनको प्रयोग, संग्रहालयको व्यवस्थापन लगायतका बिषय चुनौतीका रुपमा खडा छन् ।
संग्राहलय हिजोको पुस्ता, वर्तमानको पुस्ता र भावी पुस्ताको सबैको उपस्थिती देखिनुपर्ने ठाउँ हो । मानवजातीको उत्पति पछिका मानवीय क्रियाकलाप, प्रकृतिका उपहार सबैलाई सुरक्षित राख्ने, हिजोले आजका लागि सिकाउने, आजकाले भोलिका लागि सुरक्षीत राख्ने र बुझाउने माध्यामको रुपमा संग्राहलयलाई लिन सकिन्छ । देश बिदेशका कयौं संगाहलयहरु मर्म अनुसारनै स्थापना भए, चले र चलिरहने छन् । तर पछिल्लो समय संग्राहलयको अभियान फेसन बन्न थालेको छ । सस्तो लोकप्रियताका लागि संग्रहालयको अलाप जप्ने तर काम फत्ते नगर्ने राजनीतिक तथा प्रशासनिक परिपाटीका कारण यस्ता कामहरु अलपत्र पर्ने गरेका हुन् । बागलुङका केही संग्राहलय उदाहरणका रुपमा मात्रै प्रस्तुत गर्दा यस्ता अलपत्र योजना यत्रतत्र भेट्न सकिन्छ । यो दुःखद पक्ष हो ।
दलित आन्दोलनका अगुवा भगत सर्वजित विश्वकर्माको जन्मस्थल र उनको योगदान तथा राष्ट्रिय दलित आयोगका संस्थापक पदमसिंह विश्वकर्माको कर्मको स्मृति आउने गरी बागलुङको जैमिनीमा राष्ट्रिय दलित संग्राहलय बनाइने चर्चा सुरु भएको छ । दलित संग्राहलय तथा अध्ययन अनुसन्धान केन्द्र स्थापनार्थ प्रारम्भिक अबधारणा प्रस्तुतीकरण र छलफल कार्यक्रममार्फत संग्राहलय अभियानको थालनी भएको छ । यो प्रशंसायोग्य काम हो । भगत सर्वजित विश्वकर्माको जन्मस्थल र उनको योगदानको चर्चा जति गरेपनि कमी हुन्छ । ब्रामणबादी चिन्तन भएको समाजमा दलित समुदायबाट माथी उठेर बेद पढ्ने सहास गर्ने उनी र उनका कर्मका बिषय मात्रै होईन नेपालको समज संरचनाले विभक्त गरेको दलित समुदायको उत्थान, जागरण र सहभागितालगायत उनीहरुको अलौकिक सीपको प्रचारप्रसार र संरक्षणका लागि पनि यो संग्राहलय महत्वपूर्ण हुनसक्छ । जैमिनीले जुन सहास गरेको छ यसमा जिल्ला प्रदेश र देशभरीका स्थानीय तह तथा प्रदेश र संघीय सरकारको साथ सहयोग आवश्यकता छ । जैमिनीले खुट्टा नकमाओस्, सरोकारवाला सबै साथ दिन तयार रहुन्, र संग्राहलय अलपत्र नपरोस् । इतिहासले धिक्कार्ने र वर्तमानले गिज्याउने काम नहोस् । समयमा बनोस् दलित संग्रहालय शुभकामना ।
