पोखरा/ चाडपर्व नजिकिएसँगै कास्की प्रहरीेले विशेष सुरक्षा योजनालाई अघि सारेको छ । सोही सुरक्षा योजनाअन्तर्गत यसपटक कास्की प्रहरीको टार्गेटमा मोडिफाइ (स्वरुप परिवर्तन) बाइकहरु परेका छन् । समाजमा ध्वनी प्रदूषण फैलाउनुका साथै दुर्घटनाको जोखिमसमेत बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले संयुक्त रुपमा मोडिफाइ बाइक कारबाही गर्ने अभियान थालेको छ । चाडपर्व जनिकएसंगै प्रहरीले २२ वटा मोडिफाई बाइकलाई कारवाहि गरेको छ । आइतबार नियन्त्रणमा लिइएका मोडिफाइ गरिएका बाइक सार्वजनिक गर्दै प्रहरीले मोडिफाइ गर्ने वर्कसपलाई समेत कारबाही गर्ने भएको छ ।
मोडिफाइ बाइक सार्वजानिक गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले कास्की प्रहरीमा बढी आवाज निकाल्दै दुःख दिएको भन्ने गुनासो बढ्न थालेपछि अभियानकै रुपमा अघि बढाएको सुनाए । उनले त्यस्ता सवारीलाई नियन्त्रणमा लिई कारबाही गरेको सुनाए । ‘चाडपर्व नजिकिँदै गर्दा विभिन्न नसाजन्य पदार्थ सेवन गरी सवारी चलाउने गर्छन्,’ उनले भने, ‘बाइक मोडिफाइ गरी चलाउने र त्यसले दुर्घटना निम्त्याउने हुँदा नियन्त्रण गर्न अभियान सुरु गरेका हौं ।’ उनका अनुसार गत आ.व. मा ७६ हजार ४ सय ६० सवारी कारबाहीमा पर्दा एक हजार चार सय ८५ मोटरसाइकल मोडिफाइ गरिएको भेटिएको थियो । चालु आ.व. मा चार सय ४७ वटा मोडिफाइ भएका मोटरसाइकल कारवाहिमा परेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रवक्ता शिवप्रसाद पाठकले प्रहरीलाई झुक्याउनका लागि स्टार्ट गर्ने चाबी एकातिर र देखाउने चाबी अर्कातिर बनाएको भेटिएको जानकारी दिए । उनले मोडिफाइ गर्नका लागि फरक नाम राखेर ‘पोखरेली बुलेट सिट’ नाम समेत दिएको भेटिएको सुनाए ।
‘जिल्ला प्रहरी कार्यालयको निर्देशन अनुसार हामीले मोडिफाइ बाइक नियन्त्रण अभियान थालेका छौं । हामीले हिजोका दिनमा पनि कारबाही गर्दै आएका थियौ तर अहिले अभियानकै रुपमा सुरु गरिएको छ’ उनले भने, ‘विशेष गरी क्रसफायर बाइक मोडिफाइ बढी गरेको भेटिन्छ त्यसपछि बुलेट बाइक । साइलेनसरमा प्वाल पार्ने, साइलेन्सर फेर्ने, हेन्डल परिवर्तनसंगै विभिन्न स्थानमा चाबी राख्ने गरेको भेटिन्छ । बाइकको चाबी हाल्ने देखाउन एकातिर, खोल्ने अर्कोतर्फ भएकोसमेत भेटियो ।’
प्रहरीले समातेका बाइकमा बुलेट, क्रसफायर, पल्सर एनएस लगायतका छन् । बढी आवाज कसरी बनाउन सकिन्छ भनेर साइलेन्सर प्वाल पार्नेलगायतका कामहरु भएको र हाल ट्राफिक नियम अनुसारमात्रै जरिबाना गरिने उनले बताए । ‘पहिलो पटकमा सवारीको ढाँचा जुन हो त्यही बनाउने र ट्राफिक जरिवाना अनुसार कारबाही गरी परिवारको जिम्मा लगाएर छाड्ने छौं । दोस्रो पटक पनि त्यस्तै भएमा यातायात व्यवस्था कार्यालयमा पठाएर सोही अनुसार कारवाहि गर्नेछौं,’ उनले भने, ‘थपमा हामीले के छ भने यो बनाउने वर्कसपहरु उहाँहरुबाटै पत्ता लगाउने र ती वर्कसप चलाउनेलाई पनि पहिलोपटक लिएर आएर सचेत गराउने र दोस्रो पटक पनि त्यहि काम गरेको भेटियो भने हामी मुद्दा चलाउने सम्बन्धित कार्यालयमा लेखापढी गर्ने तयारीमा छौं ।’





