पछिल्लो समय जिल्ला प्रशासन, नगरपालिकाहरु, खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय, बागलुङ उद्योग बाणिज्य संघ र साबिकको घरेलु अर्थात पर्यटन तथा उद्योग कार्यालयले बजार अनुगमनलाई तीब्र पारेका छन् । हरेक दिनजसो सबै पालिका तहमा अनुगमन भैरहेको छ । अनुगमनको क्रममा सबैभन्दा बढी म्याद गुज्रेका सामानहरु भेटिएको छ ।
हेर्दाहेर्दै एकदुइ साता वा एक महिना सम्म म्याद सकिएका सामान भेटिनु सामान्य होला । तर कतिपय पसलहरुमा बर्षौदेखि म्याद सकिएर पनि बेचिएका, आम नागरिकको स्वास्थ्यमा गम्भिर खेलवाड गरिएका सामानहरु भेटिएका छन् । ती सामान भेटिंदा व्यपारीहरुले नभ्याएको, नसकेको, नहेरेको जस्ता हलुका उत्तर दिएका छन् । अनुगमनकर्ताहरुले पनि ती सामान फाल्ने काम मात्र गरेका छन् । कतिपय सामान थुप्रो लगाइदिएको छ, फिर्ता गर्नु भन्ने आदेश मात्रै छ । तर ती व्यपारीले सामान फिर्ता गर्छन् भन्नेमा शंका छ । समयमै, सजिलै फिर्ता हुने सामान समेत व्यपारीले चार बर्षदेखि पसलमै राखेका छन् । त्यसैले उनीहरुमाथी शंका छ ।
त्यतिमात्र हैन, पसलमै कुहिएर गन्हाएका सामान समेत बेच्ने टासीमा राखिएको पाइयो । ती सामान बर्षौदेखि राख्नुमा उनीहरुको नियत देखिन्छ । आम जनताका छोराछोरीको स्वास्थ्यमा गम्भिर खेलवाड गरिंदा उनीहरु उम्कनु राम्रो होइन । यद्यपी कतिपयलाई पहिलो पटक भनेर छाडिएको छ । तर उनीहरुले पहिलो पटक नभइ पटक पटक यस्ता हर्कत गरेको देखिन्छ । किनकी चार बर्ष म्याद सकिएको सामान कुनै पसलमा भेटिनु भनेको या त चारबर्षदेखि ती पसल अनुगमन भएका छैनन् । या त यस अघिको आग्रह अटेर गरेका छ्न् ।
म्याद सकिएका सामान होलसेल वा कंपनीको आफ्नै कर्मचारी आएर फिर्ता गर्ने चलन छ । तर उनीहरुले आफ्नो पसलको सामान फिर्ता गराउन खोजेका छैनन् । उल्टै लेबल नभएका, भएको स्थानमा केरमेट गरेका, खुला बेच्न नहुने सामान बेचेका र धुलोले छोपिएको अबस्थामा पनि धेरै सामानहरु भेटिएका थिए । बियर, कोक र फेन्टा जस्ता सामानको पनि म्याद गुज्रेका थिए । कतिपयले म्याद सकिएको एकबर्ष पुगेका फ्रुटी समेत फ्रिजमा राखेर बेचेको पनि भेटिए । कतिपय सामान म्याद सकिंनै लाग्दा बजारमा पठाइएका छन् भन्ने समेत खुलेको छ । बरेङमा गरिएको एक अनुगमनको क्रममा म्याद सकिएपछि मात्र थोक बिक्रेताले गाउँमा लगेर सामान बेचेको समेत खुलेको थियो । त्यो घटना सार्वजनिक भएपछि स्थानीयले म्याद हेरेर मात्र सामान किन्न थालेका छन् ।
चाडवाड लक्षित बजार अनुगमन भएपनि चर्को मूल्य बृद्धिको समेत अनुगमन गर्नुपर्ने आवस्यकता छ । कतिपय स्थानमा मूल्यसूचि अनुगमन गर्ने गरिएको पनि छ । ती बाहेक महत्वपूर्ण भनेको उपभोक्ता सचेतना नै हो । आम नागरिकले म्याद गुज्रेको सामान नकिन्ने वा हेरेर मात्र किन्ने, मूल्यबारे सचेत बन्ने गरेमा गुणस्तरहिन सामान बेच्नेहरु आँफै पछि हट्नेछन् । उपभोक्ताले सचेत भएर उजुरी गर्न थालेको खण्डमा नियतबस काम गर्नेहरु कारवाहीमा पर्छन् । तर जव चाडपर्व आउँछ तबमात्र बजारमा अनुगमन गर्ने पद्दतीलाई नियमित बनाउनु पर्छ । उपभोक्ताको क्षेत्रमा काम गर्ने संस्था, आम नागरिक र व्यवसायीको हितमा काम गर्ने भएपनि उद्योग बाणिज्य संघले आफ्ना सदस्यलाई आम नागरिकको स्वास्थ्यमा ख्याल गर्न लगाउन सकेमा सभ्य समाज र व्यवसाय स्थापित बन्न सक्नेछन् ।
