हमासको आतंककारी आक्रमणमा परी १० जना नेपालीले ज्यान गुमाएका छन् । सिक्दै–कमाउँदैको सपनाले तानिएर इजराइल पुगेको एक महिना पनि नपुग्दै आतंकवादको कालोपञ्जामा परेर उनीहरुले ज्यान गुमाए । त्यही सपनाको पोयो समात्दै इजरायल पुगेका बाँकी यतिबेला बंकरमा बसिरहेका छन् । नेपाल सरकारसँग छिटो उद्धारको गुहार लगाइरहेका छन् ।
नेपाल सरकारले आफ्ना नागरिकहरुको छिटो उद्धार गर्न सवै संयन्त्र परिचालित गर्ने निर्णय गरेको छ । ज्यान गुमाएका नेपालीहरुप्रति शोक प्रकट गर्दै मंगलबारको लागि राष्ट्रिय शोकको घोषणा एवं मृतकका आफन्तलाई राहतस्वरुप १० लाख रुपैयाँ नगद दिने सरकारी निर्णय सार्वजनिक भएको छ । प्रधानमन्त्री प्रचण्डले उद्धारको पर्खाइमा रहेका विद्यार्थीहरुसँग सम्पकी गरी ‘नआत्तिन’ र राज्य उनीहरुको सुरक्षाप्रति संवेदनशील रहेको सन्देश प्रवाहित गरेका छन् । संकटको बेला राज्यले नागरिकलाई राज्य भएको महसुस गराउनुपर्छ । यतिबेला इजरायलमा भिषण युद्ध भइरहेको छ । उद्धार सोचेजस्तो सजिलो पनि छैन तर राज्यको अहिलेको प्राथमिकता भनेको आफ्ना नागरिकहरुलाई सुरक्षित राख्नु र सक्दो छिटो उद्धारमा जुट्नु नै हो ।
वक्तव्यबाजीले मात्र त्यो जिम्मेवारी पूरा हुँदैन । यो विषम परिस्थितिमा सरकारले संवेदनशीलताका साथै कुटनीतिक क्षमता प्रदर्शन गर्नुपर्छ । स्रोत र साधनको कमी भएको सही हो तर आवश्यकता खड्किएको बेला छिमेकीहरुसँग हातेमालोको सार्थक प्रयत्न पनि गरिनुपर्छ । अफगानिस्तानमा नेपालीमाथि यस्तै विपत् आइपर्दा मित्रराष्ट्र भारतले उद्धारमा सघाएको थियो । त्यस्ता सम्भावनाप्रति राज्यले विशेष दृष्टि दिनु अहिलेको पहिलो कर्तव्य हो । राज्यविहीनताको महसुस हुनु आफन्त गुमाउनुभन्दा पीडादायी हुन्छ । नागरिकले त्यस्तो महसुस गर्न नपरोस्,त्यहाँ रहेका नेपालीहरु सुरक्षित होऊन्,उनीहरुको छिटो उद्धार गरियोस् भन्ने नै अहिले आमनेपालीको कामना हो ।
शोकको बेला, नेपालीहरु किन विदेश जान अभिषप्त छन् भन्ने प्रश्न गौण बनेको छ । नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो कर्तव्य हो । त्यो कर्तव्य निभाउँदै गर्दा अव कुन देशमा आफ्ना नागरिकलाई पठाउने र नपठाउने भन्ने विषयबारे पनि बहस चल्नुपर्छ । मध्यपूर्वजस्तो संवेदनशील स्थानमा श्रमस्वीकृति नै दिएर रोजगारीको खुला गरिने निर्णयमा पुनर्विचार हुनुपर्छ भने देशबाट युवा पलायनको डरलाग्दो उपक्रम रोक्ने एजेण्डालाई दलहरुले साझा एजेण्डाको रुपमा स्थापित गराउनुपर्छ ।
रेमिट्यान्सको भरमा धानिएको अर्थतन्त्र र देशको भद्रगोल चालामालाले धेरै युवाहरुलाई विदेश जान बाध्य बनाएको यथार्थलाई यही शोकको बेला मनन गर्नु थप क्षतिबाट बँच्ने उपाय हुनेछ । र, अन्त्यमा आतंकवादको जात र धर्म हुँदैन । मध्यपूर्वमा प्यालेष्टाइनर इजराइलबीच द्वन्द्वको बीऊ रोप्न शक्तिराष्ट्रहरुले जसरी तँछाड–मछाड गरे, त्यसको परिणति अहिले देखिएको छ । भाइचारा,सहअस्तित्व र शान्ति विश्वको माग हो । कम्तिमा युद्धरत दुवै पक्षले संयमता अपनाउँदै वार्तामार्फत् नै समस्याको समाधान खोज्न र निहत्था नागरिकको ज्यान लिने कृत्य बन्द गर्नुपर्छ । पुनः आतंकवादी आक्रमणबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धासुमन !
