शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

विमानस्थलमा विद्यार्थी कुरिरहेका कृष्णपुरका नगरप्रमुख हेमराज ओझा

विमानस्थलमा विद्यार्थी कुरिरहेका कृष्णपुरका नगरप्रमुख हेमराज ओझा


  • ढोरपाटन संवाददाता
  • असोज २६ २०८०, शुक्रबार

काठमाडौं / इजरायलबाट नेपाल एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा आगमन कक्षमा पर्खिरहेका थिए, स्वदेशबाट फर्किएका विद्यार्थीका अभिभावक र आफन्तहरू । त्यही भीडमा थिए, कृष्णपुर नगरपालिका कञ्चनपुरका नगरप्रमुख हेमराज ओझा ।

खादा र माला हातमा बोकेर बेग्र पतीक्षामा रहेका उनी सुदूरपश्चिम विश्वविद्यालय टीकापुरमा अध्ययनरत आफ्नो पालिकाका तीन जना विद्यार्थीलाई देख्नेबित्तिकै खुशीले मुस्कुराए ।

विमानस्थलका सुरक्षाकर्मीसँग अनुरोध गरेर एराइभल कक्षभित्रै पुगेर उनले क्रमशः तीनैजनालाई अंकमाल गरेर खादा लगाइदिए । ‘आफ्नै पालिकाका भाइहरू पनि परेका छन् भनेपछि घटना भएकै दिन फर्किने योजनालाई क्यान्सिल गरेर यतै बसिरहें । उनीहरू सुरक्षित छन् भने पनि युद्ध भइरहेको ठाउँमा केही नराम्रो होला कि भन्ने चिन्ता लागिरहृयो’, नगरप्रमुख ओझाले भने, ‘परराष्ट्रमन्त्री हाम्रै क्षेत्रको हुनुभएकाले उहाँसँग पनि सोधपुछ गरिरहें । मलाई जत्तिकै चिन्ता उहाँलाई पनि थियो । नियमित कुरा भएकाले धेरै ‘रिस्क’ छैन भन्ने थाहा पाएको थिएँ ।’

त्यसपछि पनि उनी नगरको कामका कारण फर्किनु पर्ने थियो । बुधबार यहाँबाट उद्धार गरिएका विद्यार्थीलाई ल्याउन हवाइजहाज जाने भनेपछि उनी सँगै लिएर जाने भनेर यतै बसे । ‘मैले नगरको तर्फबाट केही गरिरहनु परेन, सरकार र परराष्ट्र मन्त्रालयले सबै गरेपछि पर्खिएर बसें । भाइहरूलाई शान्त्वना दिइरहेँ’, उनी भन्छन्, ‘उहाँहरू आएपछि लिएर जाउँला भनेर यतै बसें । अहिले भेट हुँदा खुशी लाग्यो । अब आफूसँगै लिएर जान्छु ।’

सुदूरपश्मि विश्वविद्यालयमा कृषि विज्ञान अध्ययनरत अन्य विद्यार्थीसँगै कृष्णपुर नगरपालिकाका तीनजना पदम धामी, रमेश बहादुर कार्की र नितिन भण्डारी पनि परेका थिए । नगर प्रमुख ओझाले उनीहरूको अवस्थाबारे काठमाडौंमा बसेर निरन्तर जानकारी लिने र परिवारलाई शान्त्वना दिने काम गरिरहे ।

‘मेयरले धेरैपटक कल गर्नु भएको थियो । हामीले रिसिभ गर्ने अवस्था नै थिएन । कहिले नेटले काम गर्थेन । बिजुली पनि काटिएको थियो । हामी भागेर ज्यान बचाउनु पर्ने थियो । उहाँको मात्रै नभएर घर परिवार, साथी, भाइ कसैको पनि म्यासेजको रिप्लाइ गर्न सकेनौं’, तीनजना मध्येका नितिन भण्डारीले भने, ‘तर उहाँले सम्पर्क गरिरहनु भयो । उहाँ हाम्रो बारेमा नियमित चासो लिइरहनु हुन्थ्यो । अनि ढुक्क हुन्थ्यौं । उहाँसँग सकेसम्म सम्पर्कमा रहृयौं ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->