पुस्तकालय/वाचनालय, संग्रहालय, आर्ट ग्यालरी सार्वजनिक शौचालय, पार्कलगायतका पूर्वाधारहरु समुन्नत र सभ्य सहरका परिचायक हुन् । सहरका मान्छेको वौद्धिकस्तर बढाउने, इतिहास बुझाउने, संस्कृति झल्काउने काम माथि उल्लेखित पूर्वाधारबाटमात्र सम्भव हुन्छ । फराकिला सडक र अन्य भौतिक संरचनाले मात्र सहर जीवन्त हुँदैन । तर, दुर्भाग्य ! योजनाविहीन तरिकाले बनेका हाम्रा सहरहरुमा त्यस्ता पूर्वाधारहरु विरलै देख्न पाइन्छ । पोखराको हकमा पनि यो सत्य लागू हुन्छ । हिजो भएका सार्वजनिक जग्गा नै अतिक्रमणमा परेको सहरमा त्यस्ता पूर्वाधार बनाउने ठाउँको पनि अभाव छ । तर, महानगरले त्यसो भन्न पाउँदैन । सहरका अत्यावश्यक पूर्वाधार निर्माण उसको दायित्व हो ।
पोखरा महानगरपालिकाले यहाँको व्यस्त महेन्द्रपुलमा सार्वजनिक शौचालय निर्माण गरेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) सँगको लागत साझेदारीमा निर्मित शौचालय सानो तर मौलिक छ । उत्सर्जन गरिएको मलमूत्रबाट बायोग्यास निकाल्ने गरी निर्मित शौचालयसँगै पार्कको परिकल्पना गरिएको छ । शौचालयमा महिला पुरुष शौचालय, महिलाहरूका लागि सेनेटरी प्याडको भेन्डर मेसिन, स्तनपान कक्ष, सेन्सरसहितका बेसिन तथा धाराहरू जडान गरिएको छ । यो कामको लागि एनआरएनएले कुल लगानीको ६० प्रतिशत र पोखरा महानगरपालिकाले ४० प्रतिशत खर्च गरेको छ । शौचालय सुन्दर छ र त्यसको व्यवस्थापन पनि त्यत्तिकै सुन्दर हुनुपर्छ । त्यतातिर महानगरको ध्यान जाओस् ।
एनआरएनएले पोखराका अन्य ठाउँमा पनि मौलिक नेपाली संस्कृति झल्कनेखालका आधुनिक शौचालय निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । जुन स्वागतयोग्य छ । शौचालय मान्छेको अपरिहार्य आवश्यकता हो । भीडभाड हुने ठाउँमा सार्वजनिक शौचालय चाहिन्छ नै । महेन्द्रपुलमा पनि पहिले सार्वजनिक शौचालय थियो तर अव्यवस्थित । सेती किनारमा रहेको जीर्ण संरचना भत्काएर महानगरले शौचालय निर्माण गरेर सकारात्मक सन्देश नै दिएको छ । अपितु, त्यहाँ रहेको पुस्तकालय र आर्टग्यालरीको विकल्पको रुपमा घोषित निर्माण कार्यले भने गति लिन सकेको छैन । महानगरले शौचालयसँगै पुस्तकालय र आर्टग्यालरी निर्माणमा पनि उत्तिकै ध्यान दिनुपर्छ । त्यसका अलावा पोखराका अन्य मुख्य ठाउँमा पनि शौचालय निर्माण गर्ने कार्यलाई द्रूत गतिबाट अगाडि बढाउनैपर्छ । र, हरेक निर्माण कार्य पारदर्शी र जनमैत्री हुनुपर्छ भन्ने चेतबाट महानगरको नेतृत्व निर्देशित हुनैपर्छ । सुन्दर पोखरालाई बिगार्न हैन कि सपार्न ध्यान केन्द्रीत गरिनुपर्छ ।
