सरकारले गैरआवासीय नेपालीहरुलाई नागरिकता दिन थालेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं सम्मेलनको पूर्वसन्ध्यामा प्रधानमन्त्री प्रचण्डले एनआरएनएका कार्यकारी अध्यक्ष बद्री केसी र अध्यक्ष कुल आचार्यलाई नागरिकता प्रदान गरेका हुन् ।
पर्वतका आचार्यलाई असोज २८ गते तथा काठमाडौंका केसीलाई असोज २९ गते तत् जिल्लाले नागरिकता प्रदान गरेका थिए । नागरिकता प्राप्तिलाई एनआरएनएहरुले ठूलो उपलब्धिको रुपमा लिएका छन् । उनीहरुले नागरिकता प्राप्तिसँगै मातृभूमिप्रति जोडिन पाएकोमा खुसीमात्र व्यक्त गरेका छैनन्,अभिभारा पूरा गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।
नेपालको नागरिकता ऐन २०७३ को संशोधनपछि गैरआवासीय नेपालीले नागरिकता प्राप्त गरेका हुन् । अब उनीहरुले नेपालमा सोही नागरिकताको आधारमा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपयोग गर्ने बाटो खुलेको छ ।नागरिकता गैरआवासीय नेपालीहरुको संवैधानिक हक हो । नेपालको संविधान २०७२ को धारा १४ मा गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्न सकिने व्यवस्था गरिएको छ । सो धाराले सार्क सदस्यबाहेकका राष्ट्रमा बसोबास गर्ने साविकमा वंशजको वा जन्मका आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिने संवैधानिक व्यवस्था गरेको छ ।
गैरआवासीय नेपालीहरुबाट देशको समुन्नतिको लागि योगदान हुँदै आएकोमा द्धिविधा छैन । विश्वको जुनसुकै कुनामा रहे पनि जन्मले नेपाली भएकाहरुको मनमा नेपालप्रति अगाध माया रहेको प्रमाणित भइसकेको छ । गैरआवासीय नागरिकहरुको योगदानको अन्य राष्ट्रले पनि उपयोग गर्दै आइरहेका छन् । नेपालले ढिलै भए पनि जन्मले नेपाली ठहरिएकाहरुलाई नागरिकता दिएर सम्मानित गरेको छ । सरकारको तर्फबाट अब चाहिँ नागरिकता प्राप्तिलाई सहज बनाउनेतर्फ ध्यान दिनुपर्छ । नागरिकता प्राप्तिलाई गैरआवासीय नेपालीले पनि सामान्य रुपमा बुझ्नुहुँदैन । कर्मक्षेत्र जहाँ भए पनि म नेपाली हुँ र नेपालप्रति मेरो दायित्व छ भन्ने बिर्सनु हुँदैन ।
वर्षको एकपटक नेपाल घुम्न वा चाडबाड मनाउन आउने, तामझाम गर्ने र योगदान चाहिँ नदिँदा नागरिकताको सम्मान हुँदैन । देश रेमिट्यान्सले धानिएको छ । नेपाली नागरिकता त्यागेकाभन्दा बाध्य भएर खाडीलगायतका देशमा पुगेका नेपालीहरुको रेमिट्यान्समा ठूलो योगदान छ । यो तथ्यलाई नागरिकता त्यागेकाहरुले बिर्सन मिल्दैन । अध्यक्ष कुल आचार्यले भनेजस्तै नागरिकता कागजको टुक्रामात्र हैन,नागरिकतासँग भावना मिसिएको हुन्छ । अवसरको खोजीमा विदेशिएकाहरुले साँच्चिकै नेपाललाई माया गर्छन् भन्ने प्रमाणित गर्नुपर्ने दायित्व अब एनआरएनएकै काँधमा आएको छ । त्यसमा एनआरएनए अब्बल सावित् हुन् । नागरिकता पाएकोमा बधाई ।
