मंगलबार राति प्यालेस्टाइनको गाजामा रहेको अल अहवी अरब अस्पतालमा क्रुरतापूर्ण रकेट आक्रमण भयो । आक्रमणमा परी उपचाररत बालबालिकासहित सयौंले ज्यान गुमाए । नृशंस नरसंहार’पछिको विस्तृत विवरण आउन सकेको छैन तर जति दृष्य बाहिर आएका छन्, ती साँच्चिकै हृदयविदारक छन् । त्यसको जति निन्दा गरे पनि कम हुन्छ । एक–आपसमा लडिरहेका हमास र इजरायलले मानवतामाथिको क्रुरतापूर्ण आक्रमणको दोष एक–अर्कामाथि थोपरेका छन् । इजरायलले हमासले गरेको असफल रकेट प्रहारबाट सो घटना घटेको जिकिर गरेको छ भने हमासले इजरायलले जानाजान अस्पतालमाआक्रमण गरेको दाबी गरेको छ ।
तर, घटनाक्रमले गाजामाथि सवैप्रकारका नाकाबन्दीसहित निरन्तर आक्रमण गरिरहेको इजरायल नै यो प्रकरणमा दोषी देखिएको छ । जारी युद्धको कारक हमास लडाकुहरु नै हुन् भन्नेमा द्धिविधा छैन । हमासले एकाएक इजरायलमाथि गरेको आक्रमणपछि घटित रक्तपातपूर्ण परिस्थितिले दुवैतर्फ ठूलो धनजनको क्षति भएको पनि सत्य हो । १० जना नेपालीले ज्यान नै गुमाएका छन् भने एकजना अझै बेपत्ता छन् र त्यो युद्धको बाछिटाबाट नेपाल पनि शोकमा छ । तर, युद्धका पनि आफ्नै नियम हुन्छन् ।युद्धरत पक्षले अन्तर्राष्ट्रिय नियमहरु पालना गर्नुपर्छ । सर्वसाधारणमाथि आक्रमण गरिनु हुँदैन । सशस्त्र समूहबाहेकमाथि गोली दागिनु हुँदैन । तर, अहिले प्यालेष्टाइनबाट आएका तस्वीर र भिडियोहरुले भने त्यस्तो भन्दैन ।
त्यहाँ मानवीयतामाथि आक्रमण भएको छ । निहत्था मारिएका छन् र युद्ध अपराध भएको छ । आफूमाथि भएको आक्रमणपछि इजरायल बढी नै क्रुर देखिएको स्वतन्त्र अन्तर्राष्ट्रिय संघ÷संस्थाले औ ंल्याएका छन् । इजरायली आक्रमणबाट ३ हजार ५ सयभन्दा बढी मारिँदा दैनिक १ सय जना बालबालिकाले ज्यान गुमाइरहेको पनि ती संस्थाहरुले जनाएका छन् । आवासीय क्षेत्रमा खसालिएका रकेट लागेर मारिएका र घाइते भएकाहरुको संख्या त्योभन्दा बढी भएको अनुमान गरिएको छ । अति भइसकेको छ । प्यालेष्टाइनमा लाखौ ं नागरिक बेघरबार भएका छन् । भोकमरी फैलिएको छ भने अस्पतालमा समेत आक्रमण हुँदा उपचार नपाएर सर्वसाधारणले ज्यान गुमाइरहेका छन् ।
मानवीयताविरुद्धको यस्तो अपराधलाई यो वा त्यो बहानामा स्वीकार्न सकिँदैन । हमासले गरेको गल्तीको ऊ भागिदार बन्नैपर्छ । अत्याचारको बदला अत्याचार नै हुन सक्दैन । बालबालिकामाथि गोली दाग्नुलाई आत्मरक्षाको अधिकार मान्न मिल्दैन । अति भइसकेको छ । युद्धरत पक्षलाई वार्ताकै माध्यमबाट समाधान खोज्न र थप क्षति हुन नदिन मानवीयता भएकाहरु एक ठाउँमा उभिन ढिला भइसकेको छ । रक्तपिपासुहरुले उन्मुक्ति पाउँदैनन्, उनीहरुलाई ढिलोचाँडो दण्डको भागिदार बनाइनैपर्छ । तर, अहिलेको आवश्यकता भनेको भीडन्त रोक्ने र गाजामा मानवीय सेवा सूचारु गर्नु नै हो । यो कामको लागि दबाब दिऔ ं । नरसंहारको विरोध गरौं । शान्ति पुनर्वहालीको लागि ऐक्यवद्धता जनाऔं ।
