शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

दशैंको शुभकामना

दशैंको शुभकामना


  • हरिनारायण गौतम
  • कार्तिक ५ २०८०, आइतबार

सिंगो देश दशैंको रौनकमा रंगिएको छ । जनहरु उमङ्गका साथ शारदीय पर्वका सांस्कृतिक र धार्मिक कृत्यहरु सम्पादन गर्दैछन् । सहरहरु खाली भएका छन्, दशैं मनाउनकै लागि विदेश, संघीय र प्रादेशिक राजधानी एवं मुख्य सहरहरुबाट जनहरु थातथलो फर्किएका छन् । जसले गर्दा गाउँहरुमा रौनक बढेको छ । कोतहरुमा शक्तिको उपासना गर्दै बली दिइएको छ भने शक्तिपीठहरुमा धर्मभिरुहरुको भीड लागेको छ । रोंटेपिङ, लिङ्गेपिङहरुको चचहुईले देश नै उत्सवमय बनेको छ ।

दशैंसँग विभिन्न मिथकहरु जोडिएका छन् । यो पहाडी राज्यमा कहिलेदेखि दशैं मनाउन थालियो भन्ने एकीन छैन अपितु् परम्परा प्राचिन भन्नेमा द्धिविधा छैन । हिन्दु देवी–देवताको आराधना गरिने यो पर्व यति मौलिक छ कि, यसमा नेपाली माटो र संस्कृतिको सुगन्ध घोलिएको छ । देवीकै उपासना सही ! भारतलगायत अन्य क्षेत्रका हिन्दुहरुको भन्दा पृथकता यसको विशेषता बनेको छ । टीका रातो होस् वा सेतो, जमरासहितको दशैंको सवै जातजाति र समुदायको साझा त्यौहार बनेको छ । ठूलाबाट आशीर्वाद दिने, सानालाई दिने संस्कृति र धार्मिक आस्था जोडिएको दशैंले विविधताभित्र पनि साझापन स्थापित गरेको छ ।

संविधानले नेपाललाई बहुधार्मिक र सांस्कृतिक धर्मरनिरपेक्ष राज्यको रुपमा अथ्र्थाएको छ भने धर्मनिरपेक्षतालाई सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनु पर्छ भनेको छ । दशैंलाई सर्वस्वीकार्यताले यो साझा र मौलिक पर्वको रुपमै दर्ज भएको छ । राज्यले दिएको महत्वलाई अन्यथा नसम्झिने हो भने, दशैंले सिर्जना गर्ने बजार अर्थतन्त्रको पाटो अझ महत्वपूर्ण छ ।

बजार अर्थतन्त्रको कुरा गरिरहँदा, वर्षभर हुने क्रय-बिक्रयमध्ये दशैं-तिहारले मात्र ७० प्रतिशतभन्दा बढी भारबहन गर्दै आएको छ । नाना, चिची, मीठो खाना यो पर्वका विशेषता हुन् । सांस्कृतिक पर्वमा फजुल खर्च र तडकभडक सुहाउँदैन । अपितु, पछिल्लो समय वैभव र अह्म प्रदर्शनको होडबाजीले यो पर्वको मौलिकतामाथि धावा बोलेको छ ।

अर्कोंतर्फ, हुँदा खानेहरु लागि दशैं दशा बनेर आउने गरेको छ । ऋण काढेर पर्व मनाउनुपर्ने नियतिबाट मुक्त नभएको वर्गको लागि दशैंले खुसी ल्याउँदैन । गरिबीबाट मुक्ति दिलाउनु र हरेक नागरिकको मुहारमा खुसी ल्याउनु राज्यको कर्तव्य हो । असत्यमाथि सत्यको जीतको रुपमा मनाइने यो पर्वले देशमा ब्याप्त विकृतिको अन्त्य गराओस्, राजनीतिक नेतृत्वमा सदबुद्धि प्रदान गरोस् र आउँदा दशैंहरु खुसीसाथ मनाउने अवस्था सिर्जना होस् ।

रह्यो विकृतिको कुरा, सभ्रान्तहरुले गरीबलाई पीडा दिनेगरी तडकभडक प्रदर्शन नगरुन्, दशैंको मौलिकता नमेटियोस् । सद्भाव बाँड्ने यो पर्वले सवैलाई सुख, समृद्धि र शान्ति देओस् । ढोरपाटन न्युजको तर्फबाट यहाँहरु सवैमा दशैंको मंगलमय शुभकामना !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->