बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

अर्काको भन्नु आफ्नो मर्नु नबनाऊ, पोखरा एयरपोर्ट चलाऊ

अर्काको भन्नु आफ्नो मर्नु नबनाऊ, पोखरा एयरपोर्ट चलाऊ


  • Dhorpatan News
  • कार्तिक १४ २०८०, मंगलबार

गएको मध्यपुसमा औपचारिक उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्म अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । दुईवटा चार्टड उडानलाई बिर्सने हो भने,यो विमानस्थल पुरानो जत्तिको पनि प्रयोगमा आएको छैन । मौषमका कारण यहाँ हुने अवतरण र हुने उडान प्रभावित भएका छन् । पुरानोमा भन्दा बढी हुस्सु लाग्ने भएकाले नयाँ विमानस्थलको उडान प्रभावित बन्ने गरेको अधिकारीहरुले स्वीकारेका छन् । विमानस्थलको अस्तव्यस्ताको ,पार्किङको महँगो शुल्क, जाउआउमा भोग्नुपर्ने प्रताडनाले गर्दा हिजो विमानस्थल चाहिन्छ भनेर आन्दोलन गर्नेहरु नै अहिले गलत भएछ भन्ने अवस्थामा पुगेका छन् । अर्कोतिर, चिनियाँ ऋणको पाँसो कस्सिँदै गएको छ । हरेक वर्ष साँवा र ब्याज गरी १ अर्बभन्दा बढी चुक्ता गर्नुपर्ने दायित्व कसरी निभाउने हो ? चिन्ता थपिएको छ । विमानस्थलका अधिकारीहरुका अनुसार हरेक महिना आम्दानीभन्दा खर्च बढेर गएको छ । हरेक महिना बिजुलीको बिलमात्र ४० लाख रुपैयाँभन्दा बढीको आउन थालेको छ । बिजुलीको बिल तिर्न १० करोड रुपैयाँ ऋण लिइएको अधिकारीहरुको जिकिर छ । समग्रमा अन्तर्राष्ट्रिय उडान नहुने हो भने विमानस्थल ‘सेतो हात्ती’ बन्ने निश्चित छ ।

विमानस्थल निर्माणमा केही प्राविधिक त्रुटि भएकै रहेछ । धावन मार्ग ३ हजार मिटर लामो नहुनु, यहाँ अवतरण गर्ने विमानमा २ जना पाइलट हुनुपर्ने र यो विमानस्थलबाट बोकेका यात्रुलाई अर्को विमानस्थलसम्म छाड्ने अर्थात् उड्डयनको भाषामा फिप्थ फ्रिडम’ को अनुमति नहुनुले यहाँबाट अन्तर्राष्ट्रिय उडान अनिश्चित बनेको हो । धावनमार्ग बढाउन सहज छैन तर राष्ट्रिय ध्वजाबाहकको लागि सुरक्षित गरिको फिप्थ फ्रिडम अन्य कम्पनीको लागि खुला गर्ने विकल्पको बाटो भने खुला गर्ने ठाउँ छ । त्यतातर्फ कसैको ध्यान गएको छैन । बरु,विमानस्थल निर्माणमा भएको घोटलामाथि अख्तियारले आँखा लगाएकोप्रति धेरैको ध्यान केन्द्रीत भएको छ ।

चीन सरकारको सदाशयतामा त्यहाँको एक्जिम बैंकबाट प्राप्त २१ करोड २९ लाख अमेरिकी डलरले विमानस्थल बनेको हो । त्योमध्ये २० प्रतिशत चाहिँ अनुदान हो । यत्रो लगानी भएको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुनैपर्छ । नेपालको विमानस्थलबाट अरुले उडान गर्दैलान् भनेर सोच्नु मुर्खता सिवाय केही हैन । कम्तिमा नेपाल एयरलायन्सलाई यहाँबाट छिमेकका सहरहरुमा उडान सुरु गराउन सके विदेशी विमान कम्पनीहरु आउने बाटो खुल्छ । प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा जारी संयुक्त वक्तब्यमा पोखरा विमानस्थल संचालनमा सघाउने प्रतिवद्धता जाहेर भएको छ तर नेपाली विमान कम्पनीहरुले पनि चीनमा उडान गर्नुपर्ने कुरा प्रष्ट पारिएको छ । उडान क्षेत्रका विज्ञहरुका अनुसार उडान सम्झौता द्धितर्फी हुन्छ । चीनबाट कुनै हवाइ कम्पनी नेपाल आयो भने त्यसको बदलामा नेपालको एयरलायन्सले पनि त्यहाँ उडान भर्नुपर्छ । त्यतातर्फ कसैले सोचेको छैन । जसले गर्दा विमानस्थलबाट विदेश उड्ने गण्डकीवासीको सपना पूरा हुन पाएको छैन । अहिलेको ‘अर्काको भन्नु, आफ्नो लाजमर्दो स्थिति’ भन्ने उक्तिसँग ठ्याक्कै मिलेको छ । कम्तिमा अव त तातौं,पोखराबाट अन्तर्राष्ट्रिय उडानको लागि सम्बन्धित निकायलाई घच्घच्याऊँ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->