संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेस आफ्नो ४ दिने नेपाल भ्रमण सकेर फिर्ता भएका छन् । नेपाल रहँदा उनले सगरमाथा,लुम्बिनी र अन्नपूर्ण क्षेत्रको भ्रमण गरे । आफ्नै आँखाले जलवायू परिर्वतनले पारेको प्रभाव नियाले र सम्पूर्ण विश्वलाई जलवायू परिवर्तनले पारेको प्रभावविरुद्ध एक हुन आह्वान गरे । जलवायू परिवर्तनका कारण संकटग्रस्त नेपाललाई सघाउन उनले गरेको आह्वानले सार्थकता पायो भने निश्चय पनि त्यसबाट नेपाल लाभान्वित हुनेछ ।
नेपाल जलवायू परिवर्तनको कारक हैन तर सवैभन्दा बढी प्रभावित बन्नेमध्ये चौथो हो । जलवायू परिर्वतनकै कारण हिमनदीहरु नासिएका छन् । हिमाली क्षेत्रमा प्राकृतिक प्रकोप बढ्दो छ र हाम्रा अमूल्य संस्कृति र सभ्यताहरु नासिँदा छन् । जलवायू परिवर्तनको प्रभाव न्यूनीकरण गर्न सकिएन भने भावी पुस्ताले अझ बढी दुःख पाउने निश्चित छ । यो कुरा गुटेरेसले बुझेका छन् र उनले विश्वलाई नै बुझाउने प्रयत्न गरेका छन् । नेपालजस्तो सानो देशमा भएको उनको भ्रमण आफैैंमा महत्वपूर्ण थियो भने जलवायू परिवर्तनका विरुद्ध अभियान छेड्न र आर्थिक सहायताका लागि विश्वलाई गरिएको आह्वानका कारण त्यो अझ महत्वपूर्ण बनेको छ ।
गुटेरेसले आफ्नोतर्फबाट नेपालको पक्षमा सक्दो गरिदिएका छन् । कार्वन उत्सर्जन गर्ने राष्ट्रहरुसमक्ष सहयोगको लागि उनले गरेको आग्रहसँगै अव नेपालले पनि यो मुद्दामा विशेष तयारीका साथ लाग्नुपर्ने देखिएको छ । निकट भविष्यमा हुन लागेको राष्ट्रसंघीय जलवायू सम्मेलनको क्रममा एजेण्डासहित प्रस्तुत हुनुपर्छ । त्यो भनेको कार्वन उत्सर्जन गर्ने राष्ट्रहरुबाट आर्थिक सहायता प्राप्त गर्नु र जलवायू परिवर्तनबाट सिर्जित संकटबाट पार पाउने बाटो खोज्नु नै हो । शक्तिराष्ट्रबाट भएको अन्याय सहेर बस्नु हुँदैन र कम्तिमा आफ्ना नागरिकको सुरक्षाको लागि पनि नेपालले जलवायू परिवर्तनका मुद्दाहरुलाई अन्तर्राष्ट्रिय मञ्चमा दरिलोसँग राख्नुपर्छ । गुटेरेसले नेपाललाई त्यो अभियानमा लाग्न उत्प्रेरित गरेका छन् । युक्रेन–रुस र इजरायल–हमासबीचको युद्धको त्रासदीको बीच नेपाल आएका गुटेरेसले यो विषयको अलावा शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउन गरेको आग्रहलाई पनि नजरअन्दाज गर्नूहुँदैन । समग्रमा गुटेरेसले आफ्नो भ्रमणमार्फत् नेपालको अन्तर्राष्ट्रिय प्रचार, जलवायू परिवर्तनका विरुद्ध महत्वपूर्ण अभियानको सुरुवात गरिदिएका छन् । त्यसको फाइदा लिन नेपाल चुक्नु हुँदैन ।
