हामी उज्यालो तथा भातृत्वको पर्व तिहारको उमङ्गमा छौं । ढोरपाटन परिवार हाम्रा समस्त पाठक, विज्ञापनदाता, शुभेच्छुक एवं देश विदेशमा रहनुभएका नेपालीहरुलाई तिहारको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
हरेक चाडपर्वसँग धार्मिक आस्था र मिथक जोडिएको हुन्छ । आफ्नो भाइलाई यमराज अर्थात् मृत्युको पञ्जाबाट छुटाउन दिदीबाट भएको अथक प्रयास तिहारसँग जोडिएको मिथक हो । यमपञ्चकका पाँच दिन गरिने कृत्यले चाहिँ प्रकृतिको र प्राणीहरुसँग मानवको अन्योन्याश्रित सम्बन्धको महत्व दर्शाउँछ । कागदेखि कुकुर, गाई–गोरु, गोवद्र्धन पर्वतको पूजा गरिनु भनेको प्रकृति र प्राणीहरुप्रतिको सम्मान हो । पाषाण युगदेखि हालसम्म पनि प्रकृति र प्राणीकै सहयोगमा मान्छे बाँच्दै आएको छ । सहअस्तित्व अस्वीकार गर्दा, प्रकृतिको अधिक दोहन हुँदा मान्छेले विपत्ति अर्थात् मृत्यु पनि भोग्दै आएको छ । त्यसैले तिहारलाई प्रकृति र प्राणी पूजनको पर्वको रुपमा बुझ्दा पनि हुन्छ । र, प्रकृति र प्राणीको रक्षा नै मृत्यु जित्ने प्रयत्न हो भन्ने मनन गर्नुपर्ने हुन्छ ।

सांस्कृतिक रुपले पनि तिहारको महत्व उत्तिकै छ । तिहारमा खेलिने देउसी–भैलो नेपालीमात्रको मौलिक संस्कृति हो । दीपावली वा दीवालीको रुपमा भारतसहित विश्वका अन्य ठाउँमा रहेका हिन्दु धर्मावलम्बीले पनि यमपञ्चक मनाउँछन् । तर, देउसी भैलो खेल्दैनन् । त्यसैले तिहारलाई नेपाली रैथाने पर्वको रुपमा बुझ्दा पनि हुन्छ । लक्ष्मी अर्थात् धनकी देवीको उपासनालाई कर्मप्रतिको समर्पण मान्ने हो भने, उज्यालो पर्वलाई समृद्धि र सुखको उत्कृष्ट अभिलाषासँग जोडेर हेर्न मिल्छ ।
मनको होसु् कि जगतको ! अध्याँरो चिर्न दीपकको आवश्यकता पर्छ । उज्यालोको चाहना गर्नु जीवन र जगतप्रतिको सकारात्मक भाव हो । त्यही भावले नै मृत्यु परास्त हुन्छ । आम नेपालीमा जीवन र जगतप्रति हेर्ने सकारात्मक भावको प्रादुर्भाव होस् । अध्याँरोले कसैको भलो गर्दैन् । सामूहिक प्रयत्नले अध्याँरो चिर्न सकिन्छ । देशको अध्याँरो चिर्नको लागि सयौं बत्तिमध्ये एउटा बन्ने प्रण गर्ने भावना तिहारले जागृत गराओस् । दिदीबहिनीबाट दाजुभाईको दीर्घायू कामनासहित लगाइदिएको सप्तरङ्गी टीका लगाइसक्नु भएको छ । हामी यहाँलाई तिहारले उज्यालोतिरको यात्रा तय गर्ने प्रेरणा देओस् भन्ने कामना गर्दछौं ।
