‘स्वच्छ, पारदर्शी, प्रविधिमैत्री कर प्रशासन: सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’ भन्ने नाराका साथ आन्तरिक राजश्व कार्यालयले सप्ताहव्यापी कर सप्ताह मनाइरहेको छ । नेपाल सरकारले २०६९ सालदेखि कर दिवस मनाउन थालेको हो । नेपालमा मूल्य अभिवृद्धि कर (भ्याट) कार्यान्वनयमा आएको दिन अर्थात् मंसिर १ गतेको स्मरण गर्दै मनाइने कर सप्ताहअन्तर्गत विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । उत्कृष्ट करदातालाई सम्मान गरेर सप्ताहको अन्त्य गरिने राजश्व प्रशासनले जनाएको छ ।
मृत्यु र कर शाश्वत सत्य हुन् । करबाट मुक्ति पाइँदैन । कर तिर्नु नागरिकको तथा करबाट आर्जित राजश्व नागरिककै हितमा खर्चनु राज्यको दायित्व हो । कुनै लाभको अपेक्षाबिना नागरिकले राज्यलाई अनिवार्य रुपमा बुझाउनुपर्ने शुल्क नै कर हो । नागरिकबाट आर्जित करबाट नै राज्य संचालन हुने हो । नागरिकले अनिवार्य दायित्वबापत् भुक्तानी गरेको करबाटै राज्यले करदातालाई सुविधा दिने हो ।
सिद्धान्ततः जति बढी कर उठ्छ,नागरिकले त्यति नै बढी सुविधा पाउँछन् । विकास निर्माणको कामहरुले गति लिन्छन् । तर,यसो भनिरहँदा ढाड भाँच्ने खालको नभएर कर प्रणाली बैज्ञानिक हुनुपर्छ । कर तिर्ने नागरिकले कर तिर्दा बोझ महसुस नगर्ने र सूर्यको किरणले समुद्रको पानी सोसेर वर्षामार्फत् फिर्ता गरेजस्तै राज्यले पनि कर फिर्ता गर्नुपर्छ । नेपालको कर प्रणाली बैज्ञानिक नभएको,करदातालाई दुःख दिने गरिएको आरोपबाट मुक्त छैन । यद्यपि, पछिल्ला केही वर्षयता भने कर प्रशासनमा व्यापक सुधार भएको छ ।
विद्युतीय प्रणालीमार्फत् भुक्तानी गर्ने व्यवस्था मिलाइएको छ तर करदातालाई दुःख दिने, अल्झाउने र अतिरिक्त आर्थिक लाभ लिने प्रवृत्तिमा भने सुधार नभएको करदाताको गुनासो छ । कर प्रशासनले यी गुनासाहरुको संवोधन गर्नैपर्छ । करको दायरामा आउनेलाई निचोर्ने अनि दायराबाहिर रहेकासम्म पुग्नै नसक्ने रोगबाट पनि कर प्रशासन मुक्त हुनुपर्छ ।
गैरकानूनी कार्य गर्नेहरुलाई कठोर कारवाही, सरासर कर तिर्नेहरुलाई सम्मान र सुविधाले मात्र राजश्व वृद्धि हुन्छ, कर प्रशासनप्रतिको विश्वास बढ्छ भन्नेतर्फ प्रशासनले ध्यान देओस् । नागरिहरुले पनि आफूले तिरेको कर कहाँ के काममा खर्च भएको छ भन्ने जानकारी माग्दै कर प्रशासनलाई सेवामुखी बन्न झक्भक्याउनै पर्छ । बिरालो बाँधेर श्राद्ध गरेजस्तो कर दिवस मनाउने अनि त्यसको भोलिपल्टदेखि करदातालाई दुःख दिने प्रवृत्तिबाट प्रशासन मुक्त हुनैपर्छ । तबमात्र दिवस मनाउनुको सार्थकता झल्कन्छ ।
