झापाका दुर्गा प्रसाईं राजनीतिक दलको शीर्ष नेतृत्वले पुल्पुल्याइएका र पालित व्यक्तित्व हुन् । सामान्य भैंसीपालनबाट मेडिकल कलेज संचालकको हैसियतमा उक्लने क्रममा उनले बैंकबाट अरबौं ऋणमात्र लिएनन्, देशका मै हुँ भन्ने नेताको आडभरोसासमेत प्राप्त गरे । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीलाई दिवाखाना बैठक बसाउन सक्ने उनै प्रसाईं अहिले एमालेजस्तो पार्टीको केन्द्रीय सदस्य बन्ने अवसर दिलाउने केपी ओलीको कट्टर आलोचक बनेर निस्किएका छन् ।
एमाले अध्यक्ष ओलीसँग ‘साख्खै हजुरबा’को साइनो जोडेका प्रसाईं किन बिच्किए ? अनुमानमात्र गर्न सकिन्छ । तर, बैंकको सावाँ र ब्याज तिर्न आनाकानी गर्दै आएका उनी मिटरब्याज,सहकारी र लघुवित्त पीडितको ‘मसिहा’ एवं व्यवस्था परिवर्तन गर्दै राजसंस्था स्थापनाको एजेण्डासहित सडकमा आएका छन् । प्रसाईं चरित्रवान नेता वा मसिहा हैनन् र हुन सक्दैनन् । उनको विवादास्पद चरित्रबारे नागरिकहरु जानकार पनि छन् । पूर्वराजालाई उपस्थित गराएर कार्यक्रम सम्पन्न गरे पनि उनीसँग राजा फर्काउने तागत छैन । तर, उनीप्रति एक तहका नागरिकको अभूतपूर्व समर्थन देखिएको छ । यसो हुनुको कारण चाहिँ अरु कोही नभएर वर्तमान राजनीतिक नेतृत्व हो भन्न हिच्किचाउनुपर्ने अवस्था छैन ।
पछिल्लो समय नेपाली समाजमा आशाको ठाउँ निराशा,स्नेहको ठाउँ घृणा र आक्रोशले लिन थालेको छ । वर्तमान राजनीतिक नेतृत्वप्रतिको विश्वास डग्मगाएको छ । सवैलाई थुम्थुम्याउने मध्यमवर्ग यतिधेरै निरास सायदै भएको थियो । उसको निरासाले विदेश पलायन र आक्रोश चुलिँदो छ । भ्रष्ट शासकहरुले त्यसमा मलजल गरेका छन् । त्यही आक्रोश र निरासालाई प्रसाईंहरुले उपयोग गरिरहेका छन् । उनी आज काठमाडौंमा विशाल जुलुस निकाल्दै छन् । उनको आह्वानमा सयौं सर्वसाधारण काठमाडौं पुगेका छन् ।
हिजो आफैंद्धारा पालित र पोषित प्रसाईंले सडकबाट व्यवस्था परिवर्तन गर्ने धम्की दिएपछि उनलाई शक्ति प्रदान गर्नेहरु त्रस्त्र बनेका छन् । प्रसाईंको प्रदर्शन रोक्न गणतान्त्रिक सरकारले निषेधाज्ञा जारी गरेको छ । लोकतान्त्रिक सरकारले प्रसाईंलाई देखाएर व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता कुष्ठित गराएको छ । उता, एमालेको भातृ संगठनले त प्रसाईंविरुद्ध जेहाद नै छेडेको छ । युवा संघले प्रसाईंलाई टक्कर दिन बिहीबार नै प्रदर्शनको समयमात्र जुधाएको छैन, प्रसाईंको समर्थनमा काठमाडौं आएका महिलाहरुलाई बास बसेको ठाउँमा पुगेर अभद्र व्यवहार गरेको छ । त्यो निन्दनीय हर्कतमा आफ्नो हात नभएको बताए पनि आम नागरिकले पत्याएका छैनन् । बरु, आक्रामक व्यवहारले बिहीबारको प्रदर्शन अशान्त हुने आँकलन गरिएको छ ।
प्रसाईं व्यक्ति हुन् । उनको पनि स्वतन्त्रता छ । शान्तिपूर्वक जुलुस गर्न पाउने उनको अधिकार हो । स्वच्छन्दतालाई भने अकुंश लगाउनैपर्छ । बैंकको ऋण तिर्दिन भन्नेजस्ता गैरजिम्मेवार अभिव्यक्तिमाथि पनि नियन्त्रण हुनुपर्छ ।, कानून उल्लंघन गर्नेहरु दण्डित हुनुपर्छ तर एउटा व्यक्तिबाट राज्य यत्तिसाह्रै तर्सित हुनुपर्ने अवस्था किन आयो भन्नेबारे शीर्ष नेतृत्वले मनन गर्नुपर्छ । राजनीतिक नेतृत्व सच्चिएन, सुशासनको प्रत्याभूति दिन सकेन, आफन्त र आसेपासेको हितमा काम गरिरह्यो र सेवा प्रवाह गर्ने सार्वजनिक संस्थाहरुमा दोहन भइरह्यो भने प्रसाईंजस्ता व्यक्तिहरु जन्मिरहन्छन् भन्ने बुझ्नुपर्छ ।
