वैदेशिक रोजगारी नेपालीहरुको बाध्यता बनेको छ । दैनिक १५ सयभन्दा बढी नागरिकहरु विदेशी भूमिमा पसिना बगाउनै निम्ति विदेशिन्छन् । वैध बाटो त छँदैछ, अवैध मार्गबाट विदेशिनेको संख्या पनि कम छैन । विदेशमा पनि कहाँ सुख छ र ? कठोर श्रम, कार्यक्षेत्रमा हुने ज्यादतिबाट नागरिकहरु पीडित हुँदै आएका छन् । सरकारले श्रम सम्झौता गरेका देशहरुमा वैध बाटोबाटै जानेहरुभन्दा अवैध बाटोबाट घरेल कामदारको रुपमा विदेशिनेहरुले बढी पीडा भोग्दै आएका छन् । र, त्यसको प्रतिनिधि पात्र हुन्– म्याग्दीको बेनी नगरपालिका–९,काउँलेगौडाकी हीराकुमारी चोखाल ।
श्रीमानको जटिल रोगको उपचारको क्रममा भारत पुगेकी उनी राम्रो कमाइ हुने भन्दै कुवेत पुगेकी थिइन् । कुवेत पुगेकी उनलाई त्यहाँको एजेण्टले मोटो रकम लिएर बेचिदियो । ठूलो परिवारमा घरेलु श्रमिक हुन बाध्य उनी अहिले मानसिक र शारीरिक यातना भोग्न अभिषप्त छन् । चर्को श्रम शोषणमा परेकी उनको कमाउने सपना तुहिएको छ । कठोर श्रमका कारण बिरामी भएकी उनले आफ्नो उद्धारको लागि आग्रह गरेकी छन् ।
तर,अवैध बाटोबाट कुवेत पुगेकाल उनको घरफिर्तीमा कानूनी जटिलता देखिएको जानकारहरुले बताएका छन् । पीडामा परेका आफ्नो नागरिकको उद्धार गर्नु राज्यको कर्तव्य हो । श्रमका लागि विदेशिएका नागरिकको हक अधिकार रक्षाको लागि त्यहाँ रहेका दूतावासहरुले सक्रियता देखाउनुपर्छ । कुटनीतिक पहलमार्फत् नागरिकको अधिकार स्थापित गराउनुपर्छ ।
पछिल्लो समय दलालहरुले भारतको बाटो हुँदै सोझासाझा नेपालीहरुलाई खाडी र युरोपका विभिन्न मुलुक पठाउने गरेका छन् । त्यसरी विदेशिएका नेपालीहरुले ठूलो हण्डर अनि ठक्कर खाँदै आएकामात्र छैनन्, कतिले ज्यानसमेत गुमाएका छन् । यो विषयमा सरकार गम्भीर बन्नुपर्छ । अवैध बाटो हुँदै विदेश पु¥याउने दलालहरुमाथि कडा कारवाही गरिनुपर्छ भने वैधानिक रुपले विदेशिनेहरुको हकमा पनि सचेतना कार्यक्रम संचालन गरिनुपर्छ ।
अशिक्षित, विना तालिम, कानूनी प्रक्रिया छलेर विदेशिन हुँदैन भन्ने कुरा गाउँगाउँमा पु¥याउनुपर्छ । हीराको नियति भोग्ने नेपालीहरु थुप्रै छन् । हीराले त उद्धारको आग्रह गरेकी छन् । हीराजस्तै नारकीय जीवन बिताउन अभिषप्तहरुको उद्धारको लागि सरकारले गतिलो संयन्त्र निर्माण गरोस् । समस्यामा परेका नागरिकहरुको उद्धारमा जुटोस् ।
