पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङ नेपालकै एक चर्चित व्यक्तित्वका रूपमा परिचित छिन् । नेपालका समग्र ७५३ पालिका मध्ये न्यायसम्पादनमा उत्कृष्ट कार्य गरे वापत मञ्जु माहमहिम राष्ट्रपतिबाट सम्मानित पनि भईन् । मञ्जुदेवी पोखरा महानगरपालिकाको उपमेयरमा लगातार दोस्रोपटक निर्वाचित भईन् ।
उनले पोखराको इतिहासमा आफ्नो नाम स्वर्ण अक्षरले लेख्न सफल भएकी छिन् । उनी पहिलो महिला उपमेयर हुन् भने लगातार दोस्रो पटक उपमेयरमा निर्वाचित व्यक्ति पनि । अत्यन्त मिलनसार, शालिन व्यक्तित्वका धनी मञ्जुदेवी पार्टी भित्र एक ईमान्दार लगनशील र लोकप्रिय व्यक्तित्वका रूपमा चिनिन्छिन् ।
वि.सं. २०७४ सालको निर्वाचनमा मञ्जुदेवी पहिलोपल्ट उपमेयरमा निर्वाचित भईन् । नेपालको संविधानको धारा २१७ मा न्यायिक समितिको व्यवस्था गरेको छ । जहाँ स्थानीय तहमा आफ्ना क्षेत्राधिकार भित्रका विवाद निरुपण गर्ने उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति गठन गर्नुपर्ने प्राबधान छ ।
शुरुमा मञ्जुदेवी अकमक्क परिन्, तर उनले हिम्मत र विवेकले काम लिईन् । धेरैले यो समितिबाट प्रभावकारी काम होला भन्ने सोचेनन् । मञ्जुले आफ्नो क्षेत्राधिकारलाई राम्ररी अध्ययन, मनन् गरिन् । समितिले पनि दायावाँया नहेरी न्याय दिन थाल्यो । हेर्दाहेर्दै यो न्यायिक समिति लोकप्रिय बन्दै गयो । उनलाई प्रभावित पार्न पार्टी, जातिगत समूह र टोलवासीबाट पनि प्रयास गर्ने कार्य भने नभएको होइन तर उनले आफ्ना ईमान्दारिता र विवेकलाई खरो रूपमा प्रस्तुत गर्दै आईन् ।
अहिले अटुट अडानका कारण मान्छेले उनलाई प्रेसर गर्न पनि छाडे । अहिले नेपाल भरीमा पोखराको न्याय सम्पादन समितिलाई एक आदर्श नमुनाको रूपमा हेर्ने र लिने गरिन्छ । यसलाई एक नमुना पाठशालाको रूपमा मान्छेले हेर्ने गरेका छन्। अहिले उनी अब्बल दर्जाका न्यायधीश झै बनेकि छिन् ।
उपमेयर मञ्जुका भनाई अनुसार अहिले हप्ताको दुईपटक सोमबार र बुधबार इजलास बसेर न्यासम्पादन हुने गरेको छ । धेरैलाई यसका बारेमा जानकारी दिन नसकिएको यथार्थता स्वीकार्दै मञ्जुदेवीले भनिन् – अहिले पोखराको ३१ वडामा मात्र मेलमिलाप केन्द्र गठन भएको छ । १४४ जना मेलमिलापकर्ता छन् ।
प्राय मञ्जुको नेतृत्वमा भएका न्यायिक फैसलालाई पुनरावेदन अदालतले पनि सही ठहर गर्ने गरेकोमा सन्तुष्ट मञ्जु प्राय कानुनका किताव पढ्न मन पराउँछिन् । दीन दुःखीलाई छोटो समयमा १०० रूपैया शुल्क लिएर न्याय दिलाउन पाउँदा उनी खुसी महशुस गर्ने गर्छिन् । उनलाई लाग्छ- ‘मैले स्वयम् न्याय पाइरहेको छु ।’
वि.सं. २०१८ साल मंसिर १६ गते स्याङ्जाको सिरुवारी पञ्चमूलमा जन्मिएकी मञ्जुको उच्च शिक्षा पृथ्वीनारायण क्याम्पसमा भएको थियो । विद्यार्थीकाल देखिनै उनको झुकाव वामपन्थी विचारधारातर्फ मोडियो । स्कुल पढ्दा शिक्षकहरु माओ, लेलिनका ज्ञान दिन्थे । क्याम्पसका पढाइ पुरा गरेपछि सर्वहारा वर्गको उत्थान र नारी मुक्तिका लागि अखिल नेपाल महिला संघमा आवद्ध भईन् ।
०५५ सालमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संगठित सदस्यता प्राप्त गरिन् । विभिन्न भातृसंगठनमा आवद्ध हुँदै उनी अनेम संघ पोखरा नगरको सचिव बनिन् । केन्द्रीय सदस्य पनि भइन । अहिले उनी नेकपा एमाले पार्टीको केन्द्रिय सदस्यको भूमिका निर्वाह गर्दै आएकी छिन् । अखिल नेपाल महिला संघमा आवद्ध हुँदा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग मितिनीको नाता पनि गाँस्न भ्याइन् ।
तत्कालीन नगर प्रमुख मानबहादुर जिसी अस्वस्थ हुँदा मञ्जुले लामो समय नगर प्रमुखको जिम्मेवारी पनि सम्हालिन् । उनीसँग वौद्धिक सक्षमता, धैर्यता, गार्भियता जस्ता गुणहरु भएको स्वीकार्दै ५ नम्बरका पूर्व वडाध्यक्ष धनबहादुर नेपाली भन्दछन्- वास्तवमा उपमेयर मञ्जुदेवी गुरुङ पोखरा र पोख्रेलीलाई स्नेह गर्ने एक मातृशक्ति पनि हुन् ।
वि.सं. २०३८ सालमा उनको विवाह मेखबहादुर गुरुङसँग भएको थियो तर ०४९ सालको अन्तराष्ट्रिय विमान दुर्घटनामा मञ्जुले आफ्नो जीवनसाथीलाई गुमाउनु प¥यो । हाल मञ्जुका एक सुपुत्र र एक सुपुत्री छिन् । उपप्रमुख गुरुङले न्यायिक समितिका अलावा महानगरका धेरै सेवाकार्यमा आफ्नो समय खर्चनु परेको छ ।
महानगरपालिकाको सेवा कार्यमा आफूलाई व्यस्त राखेकी मञ्जुसँग जीवनको लक्ष्य के छ ? कुन पदसम्म जान चाहनुहुन्छ भन्ने प्रश्नको उत्तरमा जवाफ दिईन् – ‘पार्टीले मलाई जे जस्तो जिम्मेवारी दिन्छ त्यसलाई सहजै स्वीकार्छु । यो नै कार्यकर्ताको धर्म हो जस्तो लाग्दछ ।’





