बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

भूकम्पपीडितलाई थप पीडा नदेऊ

भूकम्पपीडितलाई थप पीडा नदेऊ


  • ढोरपाटन संवाददाता
  • मंसिर १२ २०८०, मंगलबार

भनिन्छ-विश्वमा हरेक सेकेण्ड एकजना व्यक्ति विस्मृति ( डिमेन्सिया )को शिकार बनिरहेको हुन्छ । सरल भाषामा भन्ने हो भनेभूतकालका कुराहरु स्मृतिमा ल्याउन असफल हुनु नै विस्मृति हो । रोग लागेमा जटिलता उत्पन्न हुन्छ । तर, नेपालीहरुमा भने विस्मृतिमा रमाउने अनौठो बानी देखिन्छ । दुःख बिर्सनुलाई अन्यथा भन्न नमिल्ला तर विगतका अनुभवलाई आगतको जीवनमा उपयोग गर्ने सवालमा भने यो प्रवृत्तिले अवरोध सिर्जना गराएको छ । उदाहरण खोज्न धेरै अगाडिको घटना सम्झनै पर्दैन । २०७२ सालको भूकम्पसम्म पुग्दा हुन्छ । महाभूकम्पले देशमा ठूलो जनधनको क्षति भयो । त्यसको पुनर्निर्माणका लागि पनि वर्षौं लाग्यो ।

कतिपय संरचनाहरुको पुनर्निर्माण नै नसकिँदै हामीले भूकम्पको चोट बिर्सेजस्तो ग¥यो । भूकम्प प्रतिरोधी निर्माणको कुरा यत्तिकै सेलायो । भूकम्पीय जोखिम भएको नेपालमा त्यस्तै महाभूकम्पले जुनसुकै बेला पनि ठूलो क्षति गर्नसक्ने बैज्ञानिकहरुको चेतावनीलाई पनि सहजै बिर्सियौँ । पूर्वतयारी,सचेतना कार्यक्रम तथा भवितव्यपछिको उद्धारलगायतका विषयहरु पनि केही वर्षपछि विस्मृतिकै गर्तमा हराए । तर,बैज्ञानिकहरुको चेतावनी सत्य सावित भयो । जाजरकोट भूकम्पले हामीलाई पुनः ठूलो चोट दिएको छ । भूकम्पबाट विस्थापितहरु अहिले पनि त्रिपालमुनि बस्न अभिषप्त छन् । समयमै राहत र पुनस्र्थापनाको बलियो संरचना निर्माण गर्न सकेको भए, यो विपत्तिमा त्यो प्रबन्ध काममा आउँथ्यो । हामी चुक्यौँ । बिर्सने बानीले आउँदा दिनमा पनि यो नियति दोहोरिने छ ।

जाजरकोट भूकम्पकै कुरा गर्ने हो भने पनि त्यो विपत्तिलाई पनि हामीले सामान्य मान्न थालिसकेका छौँ । अरु त के कुरा ? भूकम्पलगत्तै देखिएको राज्यको सक्रियतामा पनि कमी आइसकेको छ । त्रिपालमुनि बास व्यवस्थापन गरेसँगै दायित्व पूरा भएकोजस्तो ठानिएको छ । भूकम्पपीडितहरुले चिसोका कारण ज्यान गुमाइरहेका छन् । मानसिकरुपले पनि उनीहरु त्यस्तै पीडामा छन् । तर, बिर्सने रोगका कारण हामी भावशून्य र कर्तव्यविमुख भइरहेका छौँ । यहाँभन्दा दुर्भाग्य के हुन्छ ? भूकम्पले दिएको पीडामा मल्हम लगाउनु राज्यको दायित्व हो । यो दायित्वबाट राज्य च्यूत हुन मिल्दैन । भूकम्पपछि त्रिपालमुनि ओत लागेका सुत्केरीसहितका नागरिकलाई जोगाउनु, उनीहरुलाई मानसिक त्रासबाट मुक्त गराउनु तथा उचित आवासको तत्काल प्रबन्ध गर्नेतर्फ सवैको ध्यान जानैपर्छ । यसको लागि राज्यले बिर्सिएको अभिनय चाहिँ तत्काल छाड्नुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->