बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

नागरिकलाई कहिलेसम बहादुर र वीर हुन अभिषप्त बनाउने ?

नागरिकलाई कहिलेसम बहादुर र वीर हुन अभिषप्त बनाउने ?


  • ढोरपाटन संवाददाता
  • मंसिर १३ २०८०, बुधबार

हामी वीर छौँ
तर बुद्धु छौँ
हामी बुद्धु छौँ
र त हामी वीर छौँ
हामी बुद्धु नभइकन वीर कहिल्यै हुन सकेनौँ ।’
कवि भूपी शेरचनले ‘हामी’कवितामा नेपालीहरुलाई यसरी नै परिभाषित गरिदिए । पराक्रम, बलिदानी,कर्तव्यपरायणता नेपालीहरुको विशेषता हो भनेर बुझ्दै आएकाहरुलाई उनको कविताले रन्थन्याउनु अस्वभाविक थिएन । केही रन्थनिए तर सत्य त्यही थियो । हिजो नेपालीहरु बेलायती साम्राज्यको लागि लडे । मलायादेखि युरोपसम्म पुगेर कुर्वानी गरे । अहिले पनि भारतीय र बेलायती सेनामा रहेर ती देशको रक्षा गर्ने दायित्व हामीले निभाइरहेका छौं ।

गोरखा भर्ती बन्द गराउने उद्घोष गर्ने दलहरु सत्तामा पुगे तर भर्ती बन्द भएन । बरु, ती दलहरु नै सत्तामा हुँदा भर्तीको स्वरुप फेरियो । नेपालीहरु ‘लाहुरे’ कै रुपमा साउदी अरब, कतार, मलेसियालगायतका देशमा जाने चलन एकाएक चुलियो । अहिले वैदेशिक रोजगार नेपालीको बाध्यता बनेको छ । देश वैदेशिक रोजगारमा गएका नागरिकले पठाएको रेमिट्यान्सबाट चलेको छ । भर्तीको स्वरुप बदलिएको छ तर विदेशी भूमिमा ज्यान फाल्नुपर्ने बाध्यता उस्तै छ । हिजो मृत्युको समाचार धागोले बाँधेको चिठीमार्फत् अशुभ समाचार आउँथ्यो, अहिले प्रविधिले तत्काल घरमा खबर आउँछ । केहीको काठको बाकसमा शव आउँछ भने केहीको उतै अन्त्येष्टि हुन्छ ।

श्रमको लागि नेपाली नपुगेको ठाउँ नै छैन भने पनि हुने भएको छ । जंगलको बाटो हुँदै अमेरिका वा युरोप भासिनेहरुको कथा,अरबको चर्को घाममा श्रम गर्नेहरुको व्यथा,घरेलु श्रमिकको रुपमा विदेशिएका महिलाहरुका सुस्केराहरु राज्यले सुन्ने धृष्टता गर्दैन । बरु,यो वा त्यो बहानामा विदेश जान प्रोत्साहन गरिरहन्छ । विवशताले बहादुर बनेका हामी विदेशिन अभिषप्त छौँ र मृत्यलाई स्वीकार्दै जहाँ पनि हाम्फाल्ने भएका छौं । उदाहरणको लागि रसियन सेनामा नेपालीहरुको प्रवेश नै काफी छ । रुस र युक्रेनको युद्धसँगै अवैध वा वैधबाटोबाट रुस पुगेका नेपालीहरुले सेनामा भर्ना हुन थाले ।

भाडाका सैनिक उपलब्ध गराउने वाग्नर समूहमा भर्ती भएकाहरु युक्रेन युद्धमा होमिए । अहिले त्यहाँ करिब २ सय नेपालीहरु रहेको अनुमान गरिएको छ । पैसाको लागि सोझै रणभूमिमा होभिएकामध्ये ३ जनाको दुःखद निधन भएको खबर आएको छ । सरकार श्रमस्वीकृति नदिएको र नजान भनेको ठाउँमा किन गएको भन्ने प्रश्न गरेर तर्किन सक्ला तर यो दुःखद घटनापछि उसले यसो भन्न पाउने छैन । बरु, किन नेपालीहरु रणभूमिमा पनि जान तयार भए भन्ने प्रश्नको उत्तर खोज्नैपर्छ । नागरिकलाई विवशतामा हुत्याउने र सधैं बहादुर बनाउने राज्यसत्ता नै विदेशमा नेपाली मारिनुको जिम्मेवार छ । कम्तिमा राज्यले अव त चेतास् र काम गरोस् । रणभूमिमा जानुपर्ने बाध्यताबाट नेपालीलाई मुक्तगर्ने दिशामा कदम चालोस् ! तत्कालको लागि भने उसले र तत्काल त्यहाँ रहेकालाई सुरक्षित रुपले स्वदेश फर्काओस् !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->