सरकारले आगामी वैशाखमा लगानी सम्मेलनको आयोजना गर्ने घोषणा गरेको छ । पूर्वाधारदेखि सेवासम्मका विभिन्न क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने लक्ष्यका साथ सरकारले आउँदो वैशाख ९ र १० गतेको लागि सम्मेलनको मिति तय गरेको छ । यसअघि भएका दुईवटा सम्मेलनमा प्रतिवद्धता आएको तर सो अनुरुप लगानी भित्रिएको थिएन । यसपटक भने सरकारले प्रतिवद्धता हैन, साँचो अर्थमा लगानी भित्रने गरी तयारी थालेको जिकिर गरेको छ । लगानीका क्षेत्रहरु प्रष्ट भइसकेका छैनन् । कस्ता लगागीकर्ताले सम्मेलनमा सहभागिता जनाउँछन् र उनीहरुलाई सरकारले कस्तो सुविधा दिन्छ भन्ने पनि अन्यौलपूर्ण नै छ । यद्यपि, लगानी बोर्ड तयारीमा जुटेका खबरहरु सार्वजनिक भएका छन् ।
सरकारले लगानी सम्मेलनको तयारी थालिरहँदा नेपालको दूरसंचार क्षेत्रको ठूलो लगानीकर्ता मलेसियन कम्पनी एक्जियटा बाहिरिएको छ । एनसेलको ८० प्रतिशत स्वामित्व भएको एक्जियटाले बाहिरिने क्रममा १ खर्ब ४३ अर्ब रुपैयाँमा खरिद गरेको शेयर ६ अर्ब ६६ करोड रुपैयाँमा बिक्री गरेको छ । एक्जियटाको शेयर नेपाली व्यवसायी सतिशलाल आचार्यको स्वामित्वमा रहेको बेलायती कम्पनी स्पेक्ट्रलाइटले किनेको छ । स्पेक्ट्रलाइटको यसअघि एनसेलमा २० प्रतिशत शेयर थियो । एक्जियटाले किन कौडीको भाउमा शेयर बेच्यो भन्ने प्रष्ट छैन । यसअघि एनसेलमै आवद्ध व्यक्तिसँग भएको खरिद–बिक्री प्रक्रियाबारे प्रश्नहरु उठेका छन् । करछलीको आशंका गरिएको छ । कानून उल्लंघन भएको विषय पनि बाहिर आएको छ । एक्जियटाको बहिर्गमन र शेयर खरिदमाथि उठेका प्रश्नहरुको बिस्तारै निरुपण होला तर बहिर्गमनको बेला एक्जियटाले उठाएका केही विषयहरुले भने लगानी सम्मेलन नै प्रभावित हुने आशंका बढेको छ । एक्जियटाले आम्दानी घट्दै गएको कारणमात्र नभएर
नेपालको आर्थिक अवस्था बिग्रदै गएको, वैदेशिक लगानी सुरक्षण व्यवस्था फितलो रहेको एवं व्यावसायिक चुनौतीहरु बढ्दै गएको आरोप लगाएको छ ।
विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुले नेपालका व्यावसायिक वातावरण नभएको औंल्याउँदै आइरहेकै छन् । व्यवसाय दर्तादेखि संचालन र लाभाशं वितरणमा सहजता नभएको ती संस्थाहरुको भनाइ छ । एक्जियटा पनि बहिर्गमनको क्रममा त्यस्तै भाव व्यक्त गरेको छ । एक्जियटाको हकमा दूरसंचार कानून अनुसार सन् २०२९ पछि स्वतः सरकारी स्वामित्वमा आउने प्रावधान पनि बाहिरिनुको कारण मान्न सकिएला । तर,एक्जियटामात्र नभएर सेवा तथा बैंकिङ क्षेत्रमा भएको लगानी पनि विदेशिने क्रममा रहेकाले उसले गरेका गुनासाहरुलाई गम्भीरतापूर्वक लिनुपर्ने चाहिँ देखिएको छ । देशले ठूलो मात्रामा वैदेशिक लगानीको खोजी गरेको छ । तर, भएका लगानी बाहिरिँदा त्यसले अन्तर्राष्ट्रिय जगतमा राम्रो सन्देश प्रवाह गर्दैन । लगानीकर्ताहरु हच्कन्छन् । लगानी गर्नेले नाफाको चाहना राखेको हुन्छ । नाफा कमाउन पाउनु उसको अधिकार हो । कानून अनुसार प्राप्त नाफा विदेश लैजानु वा वितरण गर्दा सहज हुनैपर्छ । लगानी सम्मेलनको घोषणा गरिरहँदा सरकारले एक्जियटाले उठाएका सवालहरुको तत्काल उत्तर दिनुपर्छ । वास्तविकता के हो र वैदेशिक लगानीकर्तालाई के दिइन्छ भन्ने प्रष्ट पार्नुपर्छ । अन्यथा, लगानी सम्मेलन घोषणामै सीमित हुने र नेपालप्रति ठूला लगानीकर्ताले हेर्ने दृष्टिकोण नकारात्मक हुने सम्भावना बढेर गएको छ ।
