रुस–युक्रेन युद्धमा होमिएका तीनजना नेपालीको निधन भएको पुष्टि भएको छ । अवैध बाटोबाट रुस गएका र रुसको पक्षमा युद्धमोर्चामा होमिएका ती नेपालीहरुको शवसमेत नेपाल नआउने भएको छ । उनीहरुले कुन अवस्थामा ज्यान गुमाए भन्ने कुरा पनि प्रष्ट छैन ।
त्यस्तो दुःखद खबर सार्वजनिक हुँदाहुँदै भारत हुँदै दुई डफ्फा नेपाली रुसी सेनामा भर्ती हुन गएका प्रधानमन्त्री प्रचण्ड नै बताएका छन् । २६ र २७ जनाको समूह बनाएर कसले उनीहरुलाई रुस लैजाँदै छ भन्ने खुलेको छैन् तर प्रधानमन्त्रीले नेपालीलाई भर्ती नगर्न रुसलाई आग्रह गरेको अनि नजानको लागि सर्वसाधारणलाई भनिएको बताएका छन् । प्रधानमन्त्रीले दुई समूह पुस १७ गते भारत हुँदै गएको जानकारी पाएछन् तर त्यसभन्दा अगाडि पनि अवैध बाटो हुँदै त्यहाँ नेपाली पुगेको तीनजनाको मृत्युले प्रष्टाइसकेको छ । प्रधानमन्त्री प्रचण्डको देखेको र सुनेको कुरा नलुकाउने बानी छ । उनले थाहा पाएको कुरा लुकाएनन् तर यसरी अवैध मार्ग हुँदै नागरिक युद्धमा होमिने अवस्था आउनुको कारण भने उनी र सत्तातर्फ नै सोझिन्छ भन्ने चाहिँ उनले हेक्का राख्नुपर्छ ।
देशमा रोजगारी छैन । यहीँ केही गर्छु भन्नेलाई यो वा त्यो बहानामा निरुत्साहित गरिने रोगबाट देश मुक्त छैन । राजनीतिक नेतृत्व राज्यस्रोतको दोहनमै व्यस्त छ । अरु उपाय नपाउँदा नागरिकहरु ज्यान हत्केलामा राखेर युद्धमा होमिन विवश छन् । यसो हुनुको दोष राज्यले नै बोक्नुपर्छ । राज्य गम्भीर बनोस् । ज्यानको हत्केलामा राखेर विदेशिने नियतिबाट नागरिकलाई मुक्ति दिलाउनुपर्छ । चरम अनुत्तरदायीपनले सीमा नाघिसकेको छ । कम्तिमा युद्धभूमिमा जान लागेका नेपालीलाई तत्काल रोक्दै युद्धभूमिमा रहेका नगारिकको जीवनरक्षाको पहल गरिनुपर्छ । यो कामबाट सरकार चुक्यो भने उसको सत्तामा बस्ने नैतिक अधिकार रहने छैन ।
