बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पोखरा रंगशालाको अनियमितता छानबिन होस्

पोखरा रंगशालाको अनियमितता छानबिन होस्


  • Dhorpatan News
  • मंसिर २४ २०८०, आइतबार

पोखरा रंगशाला निर्माणमा यो क्षेत्रका बासिन्दाको अतुलनीय योगदान रहेको छ । अधिग्रहणको बेलाका जग्गादाता, भेंडाको मासुजस्तो हुन लागेको बेला संरक्षणको निम्ति पर्खाल लगाउने अभियानमा सघाउने दानवीर,सुविधासम्पन्न बनाउन अहोरात्र मिहिनेत गर्नेहरुको पसिनाले रंगशालाको भुइँ सिञ्चिएको छ । मुख्य कुरा त, लामो समयको पर्खाइपछि हेर्न मिल्ने रंगशाला बनेको छ । तर, त्यही रंगशालामा विभिन्न बहानामा हुने गरेका अनियमितताले चाहिँ सिंगो खेलक्षेत्रलाई नै बदनाम गराएको छ ।

जग्गा भाडामा दिएवापत् प्राप्त हुने आम्दानीमा भएको अनियमितता अहिले सतहमा आएको छ । पोखरा रंगशालाभित्रको जग्गामा विभिन्न व्यक्ति र कम्पनीको नाममा जिम हल, रसुवा कन्स्ट्रक्सन प्रालिको निर्माण सामग्री राख्ने, लाहुरे टे«निङ, चमेनागृह,नर्सरीलगायत संचालनमा रहेका छन् । जिल्ला खेलकुद विकास समितिले ती कम्पनीहरुलाई निश्चित भाडा आउने गरी जग्गा उपभोग गर्न दिएको हो । तर, खेलकुद विकास समितिले जग्गाको भाडा भने पाएको छैन।, भाडा क्षेत्रीय खेलकुद विकास समितिले उठाएको छ भने त्यो रकम पनि कहाँ जान्छ भन्ने कुरा पारदर्शी छैन ।

यसो हुनुमा जिल्ला खेलकुद विकास समिति र राष्ट्रिय खेलकुद परिषदका पदाधिकारी र सदस्यहरुको नियत कालो देखिएको छ । कतिसम्म भने सुरक्षा गार्डको नाममा आउने रकम पनि हिनामिना भएको पुष्टि भएको छ । गण्डकी खेलकुद परिषद्का सचिव श्रीधर शर्माले नै यसअघि भएका सम्झौताहरु सार्वजनिक खरिद ऐनअनुसार नभएको स्वीकारेका छन् । उनले जिल्ला खेलकुदको नाममा सम्झौता भए पनि क्षेत्रीय खेलकुदको नामबाट भाडा निकासी भएको पनि स्वीकारेका छन् भने जिल्ला खेलकुद विकास समतिकिा अध्यक्ष तोरणबहादुर बानियाँले पनि रंगशालामा गडबड भएको स्वीकारेका छन् ।

खेलकुदको नाममा खुलेका विभिन्न संस्थाहरुबीच देखिएको प्रतिस्पर्धा,कानूनी लडाइँ र व्यक्तिगत वैमनश्यताले पनि रंगशालाको अनियमिततालाई सघाएको पुष्टि भएको छ । रंगशाला पोखराको मात्र नभएर देशकै सम्पत्ति हो । त्यसको संरक्षण हुनुपर्छ र त्यहाँबाट प्राप्त आम्दानीको सही सदुपयोग गरिनुपर्छ । सरकारी सम्पत्तिलाई कौडीको भाउमा भाडामा लगाउने, त्यसबाट प्राप्त आम्दानीको दोहन गर्नु भनेको सरासर भ्रष्टाचार हो । रंगशालामा भइरहेको अनियमिततामा सरोकारवाला निकायहरुले ध्यान दिँदै दोषीमाथि कारवाही गरिनुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->