दुई दिनभित्र त्रिभुवन विमानस्थलबाट १४ र ६ किलोग्राम सुन बरामद भएको छ । १४ किलोग्राम सुन गोरखाका चन्द्र घलेले बोकेर ल्याएका थिए भने ६ किलोग्राम सुन बोकेर ल्याउने विदेशी नागरिक थिए । १४ किलो स्ुन बोक्ने घले सामान्य व्यक्ति हुन् । उनी स्वयंले विदेशबाट सुन किनेर ल्याउने वा अवैध व्यापार गर्ने हैसियत नराख्ने प्रष्ट भइसकेको छ । प्रष्ट छ– उनी भरिया थिए र केही पैसाको आशमा कसैको लागि सुन खेप्दै थिए । ३३ किलो सुनको आयात, विद्युतीय चुरोटमा सुन लुकाएर ल्याइएको प्रकरणको छानबिन नसकिँदै पुनः विमानस्थलमा ठूलो परिमाणमा सुन भेटिनुले अवैध ओसारपसार जारी रहेको संकेतमात्र गर्दैन,पर्दा पछाडि ठूलै गिरोह अनि शक्ति रहेको पुष्टि पनि गर्दछ ।
नेपालमा लामो समयदेखि अवैध रुपले सुन भित्रिँदै आएको छ र त्यसरी नै बाहिरिने गरेको छ । त्यसो त नेपाली बजारमा पनि सुनको माग बढी नै छ । तर, अवैध रुपमा भित्रने सुन नेपालमा नभएर भारतलगायतका देशमा निर्यात हुँदै आएको छ । कर छलेर ठूलो परिमाणमा सुन आयात हुँदा एकातिर राजश्वमा असर परेको छ भने अर्कोतिर अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि धुमिल भएको छ ।
तस्करीजस्तो जघन्य अपराधमा संलग्नहरुले सोझै उन्मुक्ति पाउने र भरियाहरुमात्र पक्राउ पर्नुको पछाडि को छ भन्ने प्रष्ट भएको छैन । तर, यो अनुमानभन्दा टाढा छैन । सुन तस्करीमा राज्यका उच्च ओहोदामा रहेका व्यक्तिमात्र नभएर राजनीतिक नेतृत्वको नै संलग्नता देखिनु चिन्ताको विषय हो । यस्तो जघन्य अपराधको खोजी नहुनु अझ डरलाग्दो र भ्रष्ट राज्य भएको प्रमाण हो । तस्करी प्रकरणमा यो वा त्यो बहानामा ठूला राजनीतिक दलका ठूलै नेताको संलग्नता छ भन्ने आम मानिसको बुझाइ छ । घटनाको अनुसन्धान नै नहुने अनि तस्करीले निरन्तरता पाउनुले देश गम्भीर आपराधीकरणमा फसेको प्रष्ट भएको छ । अब त अति भएको छ । देशको एउटामात्र अन्तर्राष्ट्रिय विमानस्थललाई तस्करहरुको अखडा बनाउने, राजनीतिक नेतृत्व स्वयं तस्करीमा संलग्न हुने प्रवृत्तिमाथि अंकुश लगाउन ठूलै कदम चाल्नु आवश्यक भएको छ । राजनीतिक नेतृत्वले सुन तस्करीमा आफ्नो संलग्नता नभएको पुष्टि गर्दै अनुसन्धानमा सघाउनुपर्ने देखिएको छ ।
