पोखरामा चोरीका दुई घटनामा १७ वर्षीय बालकको संलग्नताले एकसाथ कयौं प्रश्नहरुको उठान गरेको छ । पहिलो घटनामा बालकले यात्रुवाहक बस नै चोेरेर चितवन पु¥याएका छन् भने दोस्रो घटनामा संलग्न बालकले दुईवटा स्कुटर चोरी गरेको पुष्टि भएको छ । पहिलो बालक यातायात क्षेत्रमै काम गर्थे । सहचालकको काम गर्ने कसरी बस नै चोर्ने हिम्मत जुटाए भन्ने खुलेको छैन भने दोस्रो बालक चाहिँ यसअघि पनि ३ पटकसम्म आपराधिक घटनामा संलग्न भएको खुलेको छ । तीनपटकसम्म पक्राउ परे पनि किन ती बालक सुध्रिएनन् र अझ ठूलो अपराध कर्ममा होमिए भन्ने प्रश्न यति गम्भीर छ कि, दिमाग हल्लाइदिएको छ ।
नेपाली समाज एकाङ्की हुँदै गएको छ । हिजोको जस्तो हजुरबा वा हजुरआमाको काखमा खेल्ने र सिक्ने परम्पराको झण्डै अन्त्य भएको छ । अर्कोतर्फ, परिवार नै ठिकठाक नचल्दा र मातापिताबीच सम्बन्ध बिच्छेद हुने उपक्रम बढ्दो छ । जसको असर बालबालिकामा परेको छ । व परिवारको अभिभावक वैदेशिक रोजगारीमा हुँदा बालबालिकाहरु स्नेह र आवश्यक रेखदेखबाट बञ्चित बनेका छन् । जसले गर्दा उनीहरु गलत संगतमा पर्ने, गलत मनोवृत्तिले ग्रसित हुने उपक्रम बढेको छ । आपराधिक सोच वृद्धि हुनुमा सूचना प्रविधिको दुरुपयोग पनि कारक होला तर मुख्य समस्या घरबाटै सुरु भएको छ । घरको न्यानो नपाउँदा र सडकको चिसोले भेट्दा बालबालिकाहरु अपराधको दुनियामा भासिइरहेका छन् ।
अहिले कानूनले १८ वर्षभन्दा तलकालाई बालबालिका नै मानेको छ परन्तु उनीहरुमा हुने शारीरिक विकास र दिमागमा हुने परिवर्तनलाई नजरअन्दाज गर्नु हुँदैन । देखासिकी वा नयाँ केही गरौँ भन्ने उमेर पनि यही हो भन्ने भुल्नु हुँदैन । बालबालिकाको बदलिँदो स्वभाव र अपराध कर्मको बढोत्तरी गम्भीर सामाजिक विषय हो । यसप्रति राज्य अनि समाजको ध्यान पुग्न सकेको छैन । बालबालिकाहरु बिग्रने भनेको १२ देखि १८÷२० वर्षको उमेरमा नै हो । त्यो बेला उनीहरुलाई स्नेह,हेरचाह र मनोसामाजिक परामर्शको जरुरत रहन्छ । जुन कुरा अहिलेका बालबालिकाहरुले पाएका छैनन् वा कम पाएका छन् । बालबालिकालाई असल मार्गमा लगाउने पहिलो दायित्व घरपरिवारकै हुन्छ । तसर्थ, पहिला घरकाले नै आफ्ना नानीबाबुको आनीबानीप्रति ध्यान दिनुपर्छ । उनीहरुलाई सम्हाल्नैपर्छ । कथंकदाचित गलत संगतमा परे भने सम्झाएर असल मार्गमा प्रविष्ठ गराउनुपर्छ । बालबालिकामा बढ्दो कुलत र अपराध कर्मप्रति राज्य बेखबर हुनुहुँदैन । राज्यले समाजको तल्लो तहसम्म पुगेर बालबालिकाको हितमा प्रभावकारी अभियान संचालन गर्नुपर्ने टड्कारो आवश्यतावोध गर्नैपर्छ । बालबालिका बिग्रनु भनेको भविष्यको समाज बिग्रनु हो भन्ने मनन हुनैपर्छ ।
