त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्त समारोहबाट ७३ हजार विद्यार्थी दीक्षित भएका छन् । काठमाडौंको टुँडीखेलमा आयोजित दीक्षान्त समारोहमै साढे १२ हजार विद्यार्थी सहभागी भएका थिए । त्रिविले विश्वमा नै धेरै विद्यार्थी दीक्षित गर्ने दाबी गर्दै ’अफिसियल वल्र्ड रेकर्ड–ओडब्लुआर’मा समेत आवेदन दिएको जनाएको छ । रेकर्ड राख्नु एकातिर होला तर त्रिभुवन विश्वविद्यालयको गुणस्तर र अव्यवस्थाप्रति भने सधैं प्रश्न उठ्दै आएको छ ।
त्रिवि विश्वका उत्कृष्ट विश्वविद्यालयको सूचीमा पर्दैन । यहाँबाट उत्तीर्ण विद्यार्थीहरु विश्वबजारमा प्रतिष्पधा गर्ने ल्याकत राख्दैनन् भन्ने गुनासो पनि छ । राजनीतिक भागबण्डा र चरम राजनीतिकरणले विश्वविद्यालय लथालिङ्ग भएको छ । गत कात्तिकदेखि विश्वविद्यालय उपकुलपतिविहीन छ । कार्यवाहक कुलपतिको भरमा चलेको त्रिविमा कहिले. उपकुलपति नियुक्त गर्ने र को नियुक्त हुने पत्तो छैन । प्रधानमन्त्री तथा त्रिविका कुलपति प्रचण्डले राजनीतिक भागबण्डाको अन्त्य गर्ने तथा मेरिटको आधार भिसी लगायतका पदाधिकारी नियुक्ति गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिवद्धता स्वागतयोग्य छ तर लागू हुन्छ कि हुँदैन भन्नेमा आशंका छ ।
प्रधानमन्त्रीले भनेजस्तै उपकुलपति खुला प्रतिस्पर्धाबाट नै आउनुपर्छ । विश्वविद्यालय हाँक्नसक्ने विज्ञ कुलपति भएमामात्र सो पदको मर्यादा रहन्छ । राजनीतिक भागबण्डाबाट उपकुलपतिदेखि डीन र रजिष्टार नियुक्त हुँदा त्यसले विश्वविद्यालयको गुणस्तर खस्कन्छ । नपढाउने,प्राज्ञिक कर्म पनि नगर्ने र नेताको दैलो चहार्नेहरुबाट विश्वविद्यालय सुधार हुन सक्दैन । आफैंले. बनाएको क्यालेण्डर लागू नगर्ने, समयमा नतिजा नआउने र एउटै कक्षामा वर्षौं झुल्नुपर्ने रोगबाट मुक्त गराउने उपकुलपति नआएसम्म विश्वविद्यालय सुध्रदैन ।
यहाँबाट उत्पादित जनशक्तिले विश्वबजारमा प्रतिष्पर्धा गर्न पनि सक्दैन । विश्वविद्यालयमा क्रियाशिल राजनीतिक दलका भातृ संगठनको दवाबबाट मुक्त हुनसक्ने नेतृत्व नै त्रिविको आवश्यकता हो । प्रधानमन्त्रीले मुखले भनेको कुरा व्यवहारमा लागू गरे भने विश्वविद्यालयमा सुधार सम्भव छ । अर्कोतर्फ, प्रधानमन्त्री नै कुलपति हुने परम्परालाई पनि तोड्नेतर्फ पहलकदमी गरिनुपर्छ । कुलपतिको रुपमा प्रधानमन्त्रीले विश्वविद्यालय चलाउने पनि हैन । त्यस्तोमा मानको खातिर मानको लागि गरिएको यो व्यवस्था हटाउने प्रयत्नको पनि थालनी गर्नुपर्छ । विश्वविद्यालयलाई विशुद्ध प्राज्ञिक थलो बनाइनुपर्छ ।
